
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै राजनीति नयाँ कोर्समा अघि बढेको छ। अदालतको आदेशअनुसार फैसलाको मितिले १३ दिनभित्र अर्थात फागुन २४ गते राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान हुनेछ। अधिवेशन आह्वान भएसँगै नेकपाको दाहाल-नेपाल समूहले दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्नेछ। अविश्वासको प्रस्ताव पारित गराएर ओलीलाई फाल्न वा प्रस्ताव फेल गराएर जोगाउने मुख्य भूमिकामा विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी छन्। नेकपाको दाहाल नेपाल समूहले अब वैकल्पिक सरकार निर्माण प्रक्रिया प्रारम्भ गर्नेछ भने ओली समूहले आफ्नो सत्ता जोगाउने प्रयास। यी दुबैमा कांग्रेस र जसपा निर्णायक हुनेछ। पुनर्स्थापनापछि मधेसकेन्द्रीत साना दल मिलेर बनेको जसपाका नेताको दौडधुप बढेको छ। नेकपाको किचलोले कांग्रेसबाट शेरबहादुर देउवाका साथै जसपाबाट बाबुराम भट्टराईको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आए छ। को प्रधानमन्त्री बन्ला आउने दिनमा देखिँदै जाला। तर अब जसपाको भूमिका कस्तो हुन्छ भन्नेबारेमा हामीले जसपाका शीर्ष नेता राजेन्द्र महतोसँग कुराकानी गरेका छौं।
सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ?
प्रतिगमनलाई अदालतले करेक्सन गर्यो। लोकतन्त्रको रक्षा भयो। संवैधानिक मूल्य मान्यताको रक्षा भयो। अदालत धन्यवादको पात्र हो। संविधान ट्रयाकमा आयो।
अब राजनीतिक कसरी अगाडि बढ्छ? तपाईंहरु कसरी अगाडि बढ्नुहुन्छ?
अब संसद बस्छ। संसदीय प्रक्रिया अगाडि बढ्छ। त्यसको नियम कानुन संविधानअनुसार देश अगाडि बढ्छ।
तपाईहरुको भूमिका चाहीँ के हुन्छ?
संसदमा हाम्रो जे भूमिका हुनुपर्ने हो हुन्छ। अहिले हामी प्रतिपक्षमा छौं नि। यहीँ भूमिकामा रहन्छौं।
वैकल्पिक सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ला, जसपाको रोल के हुन्छ? सरकारमा जान्छ कि जाँदैन?
यसमा परिस्थित के हुन्छ अहिले नै थाहा छैन हामीलाई।
सहमतीय सरकारको अवस्थामा डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बन्ने अवस्था आउन सक्ने चर्चा छ नि?
(हाँस्दै…) हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त।
आउँदो दिनमा जस्तो परिस्थिति आउँछ त्यस्तै तपाईहरुको रोल हुन्छ भनेको हो?
कस्तो हुन्छ त्यो हामीलाई थाहा भएनन् नि। पार्टीको व्यवस्थाअनुसार पार्टीले निर्णय गर्छ।
तर नेकपाको किचलोले सत्ता समीकरणमा तपाईंहरुको भूमिका त महत्वपूर्ण छ। स्पष्ट बताइदिनुस् न?
त्यहीँ त हेरौ नि हाम्रो भूमिका कुन बेला कहाँ के देखिन्छ। यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ।
जस्तो तपाईहरु सरकारमा जाने अवस्था आयो भने के गर्नुहुन्छ?
होइन होइन यो कुरा पहिल्यै गर्नुहुन्न के।
संविधान संशोधनको एजेण्डा पनि तपाईंहरुको छ?
भने नि कुन परिस्थिति आउँछ त्यसपछि पार्टीले आवश्यक निर्णय गर्छ। के गर्ने, कसो गर्ने पार्टीले निर्णय गर्छ। त्यतिबेला हामी सोच्ने हो के। फेरि हाम्रा इस्युहरु पनि छन्। सवालहरु छन्। त्यो सबै हेर्नुपर्यो। त्यसकारण हाम्रो लागि सत्तामा जान त्यति सहज छैन।
अब तपाईहरुको इस्यु समाधान हुने अवस्थामा त जानुहुन्छ होला नि?
त्यो परिस्थितिअनुकूल समीक्षा गर्नुपर्छ। के हो समीक्षा गरेर पार्टीले आवश्यक निर्णय लिन्छ त्यतिबेला।
अहिलेसम्म पार्टीभित्र नेताहरुबीच केही छलफल भएको छैन?
छैन। छैन। बैठक पनि बसेको छैन। केही सल्लाह पनि भएको छैन। अब नेताहरु बाहिरबाट आएपछि बैठक राख्छौं। के गर्ने भनेर छलफल गर्छौं।