PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

पर्सामा सरकारी स्कुल खुले तर शुरु भएन खाजा कार्यक्रम



राधेश्याम पटेल

पर्सामा सरकारी स्कुल खुले तर शुरु भएन खाजा कार्यक्रम

वीरगंज : कोरोना महामारीको त्रासका वीच पर्साका करिब सबै सरकारी विद्यालय सञ्चालनमा आएका छन्। पर्साको १४ वटा पालिकाको करिब ३ सय विद्यालयहरु सञ्चालनमा आइसकेको हो। विद्यालय डेढ महिनादेखि सञ्चालन भए तापनि सम्बन्धित पालिकाकाले खाजा कार्यक्रम भने शुरु गराउन सकेको छैन।

पर्साका पटेर्वा सुगोली, पोखरीयाबाहेक अन्य पालिकामा खाजा कार्याक्रम पुनः शुरु हुन नसकेको अभिभावकहरुले गुनासो गरेका छन्। गत पुस दोस्रो सातादेखि सरकारको निर्देशन बिनै अभिभावकहरुको मञ्जुरीमा सुरक्षा मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गर्ने सरकारी विद्यालय खुलेका थिए। विद्यार्थीहरुको भविष्य बर्बाद नहोस् भन्ने उदेश्यका साथ पठनपाठन शुरु गर्ने विद्यालय प्रशासन, विद्यालय व्यवस्थपन समिति, अभिभावक तथा सम्बन्धित पालिकाले छलफल गरी विद्यालय सञ्चालनमा ल्याएका थिए। तर करिब दुई महिनादेखि विद्यालय नियमित सञ्चालन भइरहदाँ पनि प्राथमिक तहका लागि उपलब्ध गराइने खाजा कार्यक्रमको बजेट पालिकाले विद्यालयलाई निकास नगरेको विद्यालयका प्रधानाध्यापकहरुको आरोप छ।

वीरगंज १८ भवानीपुरका एक विद्यालयका प्रधानाध्यापकले भने,‘विद्यालय सञ्चाल भइसकेपछि विद्यार्थीहरुले टिफिन समयमा खाजा खोजिरहेका छन्, तर हामीले महानगरमा पटकपटक भन्दा पनि खाजाको पैसा पठाइएको छैन।’ उनले बजेट माग्न जाँदा शिक्षा प्रशासन महाशाखाका अधिकारीहरुले सरकारले विद्यालय खोल्न नभनेको तर तपाईहरुले आफ्नो मनले विद्यालय खोलेको कारण खाजाको पैसा नपाइने बताए।

यता, नेपाल शिक्षक महासंघ वीरगंज नगर समितिका अध्यक्ष विनोद मेहताले खाजाको पैसा वितरण गर्ने विषयमा तत्काल छलफल गरी समस्या समाधान गराउने आश्वासन दिए। नेपाल शिक्षक महासंघ पर्सा जिल्ला अध्यक्ष तीर्थराज यादवका अनुसार केही पालिकामा आंशिक रुपमा खाजा शुरु भएको केहीमा बाँकी रहेको बताए। उनले सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुको उदासिनताको कारण खाजा कार्यक्रम पुनः शुरु हुन नसकेको बताएका छन्। उनले यस विषयमा सबै पालिका प्रमुख तथा वडाका मुखियाजीहरुको पनि ध्यान जानुपर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell