PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कलाकारले सुनाए १० लोक कथा, कथा भन्नेमा निखिलदेखि निशा अधिकारीसम्म



लक्ष्मी बलायर

कलाकारले सुनाए १० लोक कथा, कथा भन्नेमा निखिलदेखि निशा अधिकारीसम्म

द एसिया फाउन्डेसनले लोक कथाका दशवटा चित्रपुस्तकलाई एकैपटक भर्चुअल माध्यमबाट विमोचन गरेको छ। ती कथाहरुलाई कोरोना लकडाउनका समयमा कार्यशालामार्फत तयार पारिएको फाउन्डेसनले जनायो। फागुन १० गते ती पुस्तक फाउन्डेसककी नेपाल प्रतिनिधि मेघान नाल्बोको उपस्थितिमा सार्वजनिक गरिएको हो।

सार्वजनिक भएका लोककथाहरुका पुस्तकमाथि विचार विमर्शसमेत भए। दशै किताबमाथि कथाका लेखक, सम्पादक, चित्रकार र चित्र सम्पादकले आफ्नो अनुभव पेश गरेका थिए। पुस्तकमा चित्र सम्पादक राखिएको यो पहिलोपटक भएको फाउन्डेसनको दाबी रह्यो।

सर्जक, चित्रकार, चित्रसम्पादक, फाउन्डेसनका प्रतिनिधीहरु, पत्रकार र कलाकारको सहभागितामा उक्त 'हाम्रा लोककथाभित्रका गाथाहरु' विषयक कार्यक्रम ५ दिनसम्म चल्यो।

कथाहरु भने नायक निखिल उप्रेतीदेखि नायिका निशा अधिकारीसम्मले पढेर सुनाएका थिए। कथा वाचन गर्नेहरुमा देखि पत्रकार, सामाजिक अभियन्ता, ब्लगरसमेत रहेका छन्।

तीमध्ये उषा रजकले सुनकेशी नानी, सुवानी मोक्तान छट्टु स्यालको चोर्ने दाउ, शृंखला खतिवडाले राजकुमारी र सुनपाती फूल, मल्भिका सुब्बाले युमा साम्माङको कथा, सरिता श्री ज्ञवालीले जिब्रो छेड्ने ख्याक, भुमिका चौधरीले एक बित्ते, निशा अधिकारीले बुढाबुढी र सेलरोटी, लेक्स लिम्बुले बाघभैरब, श्रेरिशा रानाले ढोला फर्कियो त? र निखिल उप्रेतीले आँखीझ्याल बालकथा वाचन गरेका थिए। कसैले लाइभ त कसैले रेकर्ड गरेर बालकथा पढेर सुनाएका थिए। ती कथाहरु 'लोककथाका गाथाहरु' र लेट्स रिड नेपालको फेसबुक पेजमा राखिएको छ।

बालबालिकाले कोर्सबुक बाहेक कथाका किताबबाट पनि ज्ञान हासिल गरुन् र पढ्ने संस्कार विकास होस् भन्ने उद्देश्यका साथ कथा वाचन कार्यक्रम आयोजना गरिएको बुक फर एसिया र लेट्स रिड कार्यक्रमकी अधिकृत शमिरा श्रेष्ठले बताइन्।

'वाचन गर्न सबैले चासो देखाउनुका साथै समय दिनु भएकाले उहाँहरुसँग सहकार्य गर्न निकै सजिलो भएको छ। उहाँहरुको बालसाहित्य प्रतिको रुचि र लगाब देखेर निकै खुसी रहेको छ,' श्रेष्ठले भनिन्।

शब्द पढ्न नजान्नेको लागि सुनाएर पढ्दा धेरै प्रभावकारी हुने हुँदा यस्तो कार्यक्रम सञ्चालनमा ल्याएका उनले बताइन्। साथै राम्रो प्रतिक्रिया समेत आइरहेको बताइन् उनले। पाँच दिने कार्यक्रमको संयोजन भने बाल साहित्यमा सक्रिय रहेको अनुराधा शर्माले गरेकी थिइन्।

बालसाहित्यको कमी महसुस गरेर सन् २०१७ देखि लेट्स रिड नेपालको शुरुवात गरिएको हो। जसले बालकिताब बनाउने र अनुवाद गर्ने काम गर्छ। साथै सबैले बुझने गरि स्थानिय भाषामा बालपुस्तक पनि छाप्ने गर्दछ। र निशुल्क वितरण गर्दछ।

द एसिया फाउन्डरेसनको लेट्स रिड डट ओआरजी डिजिटल पुस्तकालय हो। यसमा धेरै भाषा र विभिन्न देशका बालपुस्तकहरु पढ्न पाइन्छ । लेट्स टु रिट एपलाई डाउलोड गरेर पनि विभिन्न भाषाका कथा पढ्न सकिने एसिया फाउन्डेसनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell