PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेता जोशीको अवस्था जटिल छ, कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौँ : चिकित्सक



पहिलोपोस्ट

नेता जोशीको अवस्था जटिल छ, कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौँ : चिकित्सक
पूर्व उद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी। (फाइल फोटो)

काठमाडौं : पूर्व उद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बताएको छ। शुक्रवार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए।

जोशीलाई मस्तिष्कघात भएपछि शुक्रवार बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो। स्वास्थ्य अवस्था स्थिर देखिएपनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताए। टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा झाले बताए।

उनले भने, ‘आँखाको नानी फुलेको देखियो। दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो अलमोस्ट डेथ मान्छेहरुमा त्यस्तो देखिन्छ। एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कैपनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सिटिस्क्यान गर्‍यौँ। सिटिस्क्यान गर्दा रगत जुन थियो त्यो दिमागको बीच भागमा एउटा सानो तलाउजस्तो हुन्छ त्यहाँ पानी बन्छ त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको देखेँ।’

टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (ईभीडी) राखिएको र १ सय ३० एमएल जती पानी निकालिएको पनि डा झाले बताए। त्यसपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उनले बताए। यस्तो अवस्था जटिल हुने पनि डा झाले बताए।

उनले भने, ‘यो अवस्था एकदमै जटिल अवस्था हो। विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरुमा १ सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ। अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौँ। जो ३० प्रतिशत जति बाँच्नु हुन्छ उहाँहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ।’

नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहेको र वान्ता भई फोक्सोमा असर भएकाले श्वास फेर्न गाह्रो भइराखेको थियो। -न्युज एजेन्सी नेपाल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell