PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रचण्ड-नेपालप्रति व्यंग्य गर्दै मन्त्री भट्टले भने : लड्डु खाएपछि पानी खाने अवस्था पनि आउँछ



निशा गुरुङ

प्रचण्ड-नेपालप्रति व्यंग्य गर्दै मन्त्री भट्टले भने : लड्डु खाएपछि पानी खाने अवस्था पनि आउँछ

हेटौँडा : हेटौँडा-१३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको शुक्रवार शिलान्यास भएको छ। उक्त आद्योगिक क्षेत्रको संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन्।

औद्योगिक क्षेत्रको शिलान्यास गर्दे मन्त्री भट्टले जबसम्म देशमा राजनीतिक स्थायित्व हुँदैन तबसम्म देशको विकास नहुने बताए। उनले घरभित्र आगो लगाउने मान्छेहरु पैदा भएकोले सरकारको काममा अस्तव्यस्तता भएतापनि विचलित नभएको बताए।

‘न्यायालयमा गइसकेको कुरालाई सडकमा आन्दोलन गर्नेहरु लड्डु बाँड्दै हिँडेको पनि देखेँ’, उनले भने, ‘लड्डु खाएपछि पानी खाने अवस्था आउँछ।’

उनले सर्वोच्चले गरेको फैसलाले देशलाई अस्थिरतातिर धकेल्ने बताए। उनले अब संसदबाट नै भिड्ने तयारी रहेको समेत बताए। मन्त्री भट्टले गल्ती भयो भनेर आए स्वागत गर्न तयार रहेको बताए।

उनले औद्योगिक क्षेत्रको लागि के के सुविधा छुट दिन सकिन्छ त्यस खालका सहुलियत दिन छलफल भइरहेको पनि बताए।

कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्योगका नाममा जग्गा ओगट्ने मात्रै नभई कस्ता खालका उद्योगको महत्व छ र त्यसले कति योगदान दिन्छ भनेर काम गरे मात्रै आर्थिक विकास र समृद्ध उन्मुख गन्तव्यमा पुग्न सफल हुने बताए।

उनले अहिले देशले विकासको फड्को मारेको अवस्थामा विकास गतिलाई अवरुद्ध गर्नका निम्ति धेरै खेलहरु भइरहेको र उनीहरु विकास नरुचाउने मान्छेहरु भएको बताए।

उनले भने, ‘केपी ओली सरकार भएको बेलामा औद्योगिक क्षेत्रको निर्णय भएको र केपी ओलीकै सरकार भएको बेलामा यसको शिलान्यास भएको छ, अबको २ वर्षमा केपीकै सरकारले उद्घाटन समेत गर्ने छ।’

नेपाल सरकारले २०७२ चैत १ गते मयुरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो। मयुरधापको करिब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गामा संघीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो। मयुरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिएको छ।

औद्योगिक क्षेत्रपरिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ। छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको बताइएको छ। औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको हेटौँडा औद्योगिक क्षेत्र प्रवन्धक राजेन्द्रप्रसाद कँडेलले बताए।

उनका अनुसार विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार पूर्वाधार निर्माणका लागि करिब सात अर्ब दुई करोड ३४ लाख रकम सरकारको लगानी हुनेछ। औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ।

औद्योगिक क्षेत्र शिलान्यास भएको एक महिनाभित्र उद्योगीलाई उद्योगको अवधारणा लिएर आउन आह्वान गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए। उनले उत्पादनमुलक उद्योगलाई पहिलो प्राथमिकता दिनुका साथै साना, माझौला, मध्यम र ठूला खालका गरी सबै प्रकारका उद्योग स्थापना गराउन इच्छुकलाई औद्योगिक क्षेत्रमा जग्गा उपलब्ध गराउने बताए।

संघीय सरकारद्वारा हालै सरकारी जग्गा उक्त औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकिएको र जग्गाको चारैतर्फ कम्पाउण्डले घेरिएको हेटौँडा औद्योगिक क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए। हेटौंडा बजारबाट दक्षिणतर्फ रहेको मयुरधाप औद्योगिक क्षेत्र त्यहाँबाट करिब पाँच किलोमिटर टाढा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell