PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

भ्रष्टाचारीलाई छोड्दिन, निर्दोष फसाउनेलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई



पहिलोपोस्ट

भ्रष्टाचारीलाई छोड्दिन, निर्दोष फसाउनेलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन्।

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले भने, ‘नागरिक समाज र जनताले पनि अपेक्षा के गरेका छन् भने भ्रष्ट्राचारलाई न्यूनीकरण, नियन्त्रण गर्नुपर्‍यो। यहाँ धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाजहरु उठाइराख्नु भएको छ। त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतमा जुन प्रकारको भ्रष्ट्राचार नियन्त्रणमा कामकारबाही भइराखेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यो भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु। नागरिकहरुले जुन अपेक्षा गर्नुभएको छ र मिडियाले जुन विषयवस्तु उठाईराख्नु भएको छ त्यो विषयमा मैले संविधानले दिएको दायराभित्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानून सम्मत तरिकाले भ्रष्ट्राचार नियन्त्रण गर्ने र जनताको अपेक्षा अनुसारको भ्रष्टाचार नियन्त्रण गरेर देखाउने मेरो प्रण रहने पनि यहाँ व्यक्त गर्न चाहन्छु।’

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहटने प्रतिवद्धता समेत व्यक्त गरे। यस्तै निर्दोश व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउने कुनै पनि व्यक्तिलाई पनि कारबाही गर्ने बताए।

विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्ट्राचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे। आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell