PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कांग्रेस-कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा 



पहिलोपोस्ट

कांग्रेस-कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस-कम्युनिस्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन्। आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकतामा भएको विचार व्यक्त गरे।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दूत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे। राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लड्नपर्दैन भन्नेहरु नै आज प्रजातन्त्र संकटमा पर्‍यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएकोप्रति थापाको कडा कटाक्ष थियो। युवाको सुनिश्चित भविष्यको निमित्त नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्ने थापाको धारणा थियो।

कार्यक्रममा अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भएको बताए। बेरोजगारी, भ्रष्टाचार र बिकृतिको अन्त्यको निमित्त नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्नेमा राणाको जोड थियो। उनले राष्ट्रियता बलियो बनाउन र प्रजातान्त्रिक मूल्य मान्यता जोगाउनको निमित्त युवा पुस्ताले खबरदारी गर्नुपर्ने बताए।

कार्यक्रममा युवा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला, पार्टी काठमाडौं अध्यक्ष नवराज सिम्खडा, युवा संगठनका नेताहरु गुणराज राजभण्डारी, हिक्मतजङ्ग कार्की, रिद्धिप्रताप जङ्ग राणा लगायतले बोलेका थिए। सो कार्यक्रममा दुई सय ५५ युवाहरु पार्टीमा प्रवेश गरेको संगठनका उपाध्यक्ष कैलाश कटवालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell