PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सुवास नेम्बाङ भन्छन् : संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि झन् दह्रो



पहिलोपोस्ट

सुवास नेम्बाङ भन्छन् : संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि झन् दह्रो
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको बताएका छन्। नेकपा ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङ्ले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापना पछि दह्रो भएको बताएका हुन्। उनले प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणी समेत गरे।

उनले भने, ‘हिजो पुनर्स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ। निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन यो ठिक होइन भनिराथ्यौँ। अब त त्यो दुःख पनि गर्न नपर्ने भयो। संसद पुनर्स्थापित भयो, प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईहरुलाई बताई नै सकेँ, उहाँ त हिजो भन्दा झन् दह्रो पो हुनुभयो।’

उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गरेको समेत बताए। तर, अहिले पुनर्स्थापित भएपछि फेरी संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि उनले प्रष्ट पारे।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले प्रस्तावको सामना गर्ने बताए। अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरी एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्बाङले बताए।

नेता नेम्बाङले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए। अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको नेता नेम्बाङले बताए। पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणी समेत गरे।

‘हामीले भनिराखेका छौँ, नेकपामा विभाजन छैन। हामीले त्यो बोलिराखेका छौँ। हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ। कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ। हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेका छैनौँ। त्यसैले हामीले भनेका छौँ, हामी एकताको पक्षमा छौँ।’ -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell