PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु, विद्या भूषणको विजयी सुरुवात



एम बम

धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु, विद्या भूषणको विजयी सुरुवात

कैलाली : धनगढीमा शनिवारदेखि शुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ। धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटमा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो।

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो। उसका लागि सुवास ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए।

बलिङमा विद्या भूषणका शेर मल्लले ३, वीरेन्द्र नाथ र प्रदिप चन्दले २/२ तथा सञ्जय केसीले १ विकेट लिए।

१ सय ५३ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र वीरेन्द्र नाथले १ सय २२ रनको उत्कृष्ट साझेदारी गरे। मल्लले ७० र नाथले ३७ रन बनाए। नरेन साउँदले अविजित रहदै २६ रन बनाए।

लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिएपनि जितका लागि पर्याप्त भएन। खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो। यसअघि प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै मेयर ओडले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै खेलकुद प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्नेमा जोड दिए।

लिग कम नक आउटका आधारमा प्रतियोगिता भइरहेको लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए। प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको शाहीले जानकारी दिए। जसमा काठमाडौं र कञ्चनपुरका २/२, रुपन्देही र दाङका एक/एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। यस्तै, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिने छ। म्यान अफ द म्याचले १ हजार ५ सय पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell