PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

चिकित्सा शास्त्रका नेपाली विद्यार्थीलाई यूएईमा उपयुक्त अवसर छ : यूएईका राजदूत नकबी



राधेश्याम पटेल

चिकित्सा शास्त्रका नेपाली विद्यार्थीलाई यूएईमा उपयुक्त अवसर छ : यूएईका राजदूत नकबी

वीरगंज : नेपालका लागि यूएईका राजदूत सईद हमदनअल नकबीले नेपाली चिकित्सा शास्त्रका विद्यार्थीहरुको लागि यूएई उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजद्वारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा यूएईमा अझै पनि दक्ष जनशक्तिको कमी रहेको जानकारी गराउँदै उनले नेपाली चिकित्सा शास्त्रका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लागि रोजगारीको अवसर रहेको चर्चा गरे।

कलेजको सभाहलमा आयोजित कार्यक्रममा २१ जना मिर्गौला रोगीहरुलाई जनही १५ हजार नगद र लत्ताकपडा सहयोग गरेपछि उनले भने, ‘नेपाली स्वास्थ्यकर्मीको लागि यूनाइटेड अरब इमिरेट्समा निकै अवसर छ, पछिल्लो समयमा दुवै देशबीच पारस्परिक सम्बन्ध प्रगाढ हुँदै पनि गएको छ।’

उनले नेपालमा राजदूत भएर चार वर्षको अनुभव संगालेको चर्चा गर्दै पछिल्लो समयमा नेपाल र यूएईबीच पारस्परिक व्यापारमा पनि वृद्धि हुदै गएको चर्चा गरे। उनले यूएई सरकारले नेपालको विभिन्न विकासका क्षेत्रमा पनि अहम सहयोग गर्ने आश्वासन दिए। साथै, उनले नेपाली लगानीकर्ताहरुलाई दुबईमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न पनि अपिल गरे।

कलेजका अध्यक्ष डा जैनुद्दीन अन्सारीले गरिब विपन्न परिवारका २१ जना मिर्गौला पीडित बिरामीहरुलाई आर्थिक सहयोग गरेवापत धन्यवाद दिए। अस्पतालका मेडिकल निर्देशक डा प्रमोद सर्राफले नेशनल मेडिकल कलेजमा सय जना मिर्गौला पीडितहरुको क्रम अनुसार डायलासिस सेवा उपलब्ध गराइरहेको जानकारी गराए। कलेजमा भएको १० वटा मेशिनको सहायताले दैनिक तीन सिफ्टमा ४० जना मिर्गौला पीडितहरुको डायलासिस सेवा दिने काम भइरहको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell