इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर म्यानचेस्टर सिटीले वेस्टह्याममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वेस्टह्याममाथि २-१ गोल अन्तरले जित निकालेको हो।
खेलको ३० औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो। केभिन डी ब्रुइनको पासमा रुबेन डिआसले गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए। यद्यपि वेस्टह्यामका मिचाइल एन्टोनियोले खेलको ४३ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।
दोस्रो हाफमा जोन स्टोनले सिटीका लागि गोल थपे। उनले खेलको ६८ औं मिनेटमा रियाद महरेजको पासमा गोल गर्दा सिटीले वेस्टह्याममाथि २-१ गोलअन्तरले जित निकाल्यो।
जितसँगै २६ खेलबाट ६२ अंक जोडेको सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा रहेको लेस्टर सिटीले समान २५ खेलबाट ४९ अंक जोडेका छन्। त्यस्तै सिटीसँग पराजय ब्यहोरेको वेस्टह्याम २६ खेलबाट ४५ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।
