PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वडावडामा सडक पुगेको अर्घाखाँचीको साम्ने गाउँमा बल्ल पुग्यो बस, पञ्चेबाजा बजाएर स्वागत



पूजा पन्थी

वडावडामा सडक पुगेको अर्घाखाँचीको साम्ने गाउँमा बल्ल पुग्यो बस, पञ्चेबाजा बजाएर स्वागत

बुटवल : वडावडामा सडक सञ्जाल पुगेको अर्घाखाँचीको मुमिकास्थानको एउटा गाउँमा भने बल्ल बस पुगेको छ। पहिलो पटक बस पुग्दा स्थानीयले पञ्चेबाजा बजाएर नाचगान समेत गरे।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गरेका हुन।

साम्नेगाउँको छेँडापोखरीमा पहिलो पटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीयले चालक र सहचालकलाई बाजागाजासहित फूलमाला र अबिरले स्वागत गरे।

स्थानीयले २०६१ सालमा कोदालोले खनेर निर्माण गरेको ट्राकमा जीपसेवा सञ्चालन भएको १५ वर्षपछि बस पुगेको हो। बसको सुविधा भएसँगै डाँडा-धापखोला-छेँडापोखरी-बगैंचा-साम्नेगाउँ-ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर-२ का सिउते-सिउडेनी-बाख्खाशका स्थानीयवासी लाभान्वित हुने छन्।

भूमिकास्थान नगरपालिका-२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बस सञ्चालनको उद्घाटन गरेका थिए। थापाले नियमित बस सञ्चालनका लागि पहल गर्ने बताउँदै प्रदेश सरकार र पालिकाको सहयोगमा बस सञ्चालनमा आएको बताए। साथै, नगरपालिका-१ का वडा अध्यक्ष भोजराज खनालले वडास्तरबाट बजेट विनियोजन गरी सडककाे नाली कटानलगायतका कामको स्तरोन्नति गरिने बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell