PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ह्वीपको धम्की नदिन भीम रावलको चेतावनी, एमसीसी पारित गर्ने भनेर हल्ला गरिएको गुनासो



पहिलोपोस्ट

ह्वीपको धम्की नदिन भीम रावलको चेतावनी, एमसीसी पारित गर्ने भनेर हल्ला गरिएको गुनासो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य डा. भीम रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रावलले ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए। आफूहरुको मुख्य लडाई लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको उनको भनाइ छ। ‘देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो,’ रावलले भने।

नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको बताउँदै रावलले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे।

नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको ह्वीप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाए। उनले भने, ‘हिजोसम्म कारबाही नगरेको एक जना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन्, बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ। हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए।’

ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको आरोप लगाउँदै रावलले अहिले ओलीले नेतृत्व गरेको समूह पार्टी नभइ गुट भएको उल्लेख गरे।

रावलले अब को प्रधानमन्त्री हुन्छ भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि तर्क गरे। ‘प्रधानमन्त्री को हुन्छ भन्ने हाम्रो विषय होइन। सर्वोच्च अदालतले यत्रो फैसला गरेको छ, हाम्रो पार्टी नेपाली कांग्रेस जसपा दल, नागरिक समाजसँग सहकार्य गर्न चाहन्छ। हामीलाई मन्त्री हुने, प्रधानमन्त्री हुने हतारो छैन। कानून हाम्रो पक्षमा छ। हामीले हतारो नगरेको हो। राष्ट्रिय हितलाई माथि राख्नुपर्‍यो। अहिले हामी छलफलमा भएकोले हतारो नगरेको हो।’

प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता नहुने रावलको भनाइ छ। अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौं भनेर नभनेको बताउँदै रावलले भने, ‘सहमतिबाट जो पनि बन्ने भयो। संविधानको मर्यादा, लोकन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षा, नेपाली जनताको भावना परिपूर्ति गर्नुपर्छ।’

उनले एमसीसी पारित गर्ने भनेर हल्ला गरिएको पनि गुनासो पोखे।

रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाए। उनले भने, ‘अहिले प्रधानमन्त्रीमाथिको प्रसँग छ। केबल प्रधानमन्त्रीजीले असंवैधानिक र अलोकतान्त्रिक काम गर्नुभयो र अदालतको यत्रो फैसला गर्दा पनि म त प्रधानमन्त्री नै रहिरहन्छु भनेर बोल्ने काम गर्नुभो। यो त उहाँले लल्कार्ने काम हो।’

सांसदहरु खरिदबिक्री सुरु भयो अरे नि भनेर सोधिएको अर्को प्रसंगमा रावलले भने, ‘देशको प्रधानमन्त्रीले, सांसद किनबेच सुरु भयो भन्नु देशको अपमान हो। लोकतन्त्रको अपमान हो हाम्रो त दिमागमा पनि त्यस्तो आउँदैन् । तर, ओलीको दिमाग नै त्यस्तो छ।’

रावलले पार्टीका सबै कमिटीमा आफूहरुको बहुमत रहेको जिकिर गरे । उनले भने, ‘केन्द्रीय कमिटीमा झण्डै दुई तिहाई छ, स्थायी कमिटीमा दुई तिहाई छ। संसदीय दलमा हामी बहुमतमा छौं। निर्वाचन आयोगले बैद्यताको कुरा घामजत्तिकै छर्लङै छ। किन ढिलाई गरेको हो?’

ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो समूह बहुमतमा भएको (एक सयभन्दा बढि सांसद) छन् भनेर गरेको दाबीमा कुनै सत्यता नभएको रावलको भनाई छ। उनले भने, ‘ह्वीप लगाएर कारबाही गर्छु भने। तर, उल्टै उहाँहरुमाथि कसरी कारबाही हुन्छ, मैले विधानमा भनिसकें।’ उनले ओली पक्षसँग संसदीय दलमा बहुमत भए त्यो देखाउन चुनौती पनि दिए। उनले भने,‘ल लाइन लगाएर देखाउनुहोस्। को–को रैछन्? हामीसँग स्पष्ट बहुमत भएको कारणले प्रतिनिधिसभा विघटन गर्नुभयो। अविश्वासको प्रस्ताव ल्याएर हटाउन लागेको भनेर प्रतिनिधिसभा विघटन गरेको कुरा उहाँले गर्नुभएको होइन र?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell