PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कर्णालीको मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइरहेका बादी समुदाय पर्न थाले बिरामी



पी बी खड्का

कर्णालीको मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइरहेका बादी समुदाय पर्न थाले बिरामी

सुर्खेत : खेतीयोग्य जमिनको माग गर्दै गएको सोमवार साँझदेखि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खुला चौरमा धर्ना दिइरहेका बादी समुदायका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। खुला आकाशमुनि बसेका चार सय बढी नागरिकले रातको चिसो, दिनको गर्मी, समयमा खाना पाउँदैनन् भने दिशापिसा गर्नलाई शौचालयको उचित व्यवस्था समेत छैन।

‘रातको चिसो, बिहान सित, दिउँसो गर्मी, धुलोमा बस्नु छ’, दैलेख डुङ्गेश्वरकी पूर्णा बादी भन्छिन्, ‘हामीलाई ज्वरो, खोकी, पखला नलागेर यी महलमा बस्ने मन्त्रीलाई लाग्ला? बुढी आमा हुनुहुन्छ अहिले बिरामी पर्नुभएको छ।’

उनले समयमा पेटभरी खाना नहुँदा समेत बच्चाबच्ची र आफूहरु भोकै चौरमा सुत्नुपरेको पीडा सुनाइन्।

‘कहिले काँही कोही मनकारी संस्था र व्यक्ति आएर खर्च दिनुहुन्छ, त्यही पनि यति ठूलो बगालमा पुग्दै पुग्दैन’, गहभरी आँशु झार्दै पूर्णा भन्छिन्, ‘अलिअलि बच्चाबच्चीलाई खुवाउँछौँ, कहिले त बच्चाबच्ची हामी भोकै सुत्नुपर्छ। अहिलेसम्म एक मानो चामल लिएर प्रदेश सरकार आएको छैन।’

धर्नामा बसिरहेका बादी समुदायलाई पिउने पानीको व्यवस्था समेत छैन भने खाना र शौचालयको समस्या छ। मौसम परिवर्तनको समय भएकाले पनि सामान्य अवस्थाका व्यक्ति समेत बिरामी पर्ने यो अवस्थामा संघर्षमा उत्रिएका बादी समुदायका नागरिकको बिजोक भएको छ। खुला चौरमा लामखुट्टे, सर्पको प्रवाह नगरी बसिरहेका बादी समुदायका बालबालिका र वृद्धवृद्धा नागरिक रुखाखोकी, ज्वरो आउने, पखाला लाग्ने लक्षण सहितका बिरामी पर्न थालेको उनीहरुको भनाइ छ।

‘यो समयमा त्यसै त मान्छे कति बिरामी हुने, पखाला लाग्ने, हैजा जस्ता रोग लाग्ने बेला हामी न खानपिन राम्रोसँग हुन्छ, पिउने पानी त छैन नुहाई धुवाईको कुरा त परै छ’, संघर्षरत हिरा बादी भन्छन्, ‘कम्तीमा सरकारले पिउने पानी, दिशा पिसाव गर्ने ट्वाइलेटको व्यवस्था गर्दिए हुनेथियो।’

उनीहरुका लागि च्यातिएको त्रिपालले बेरिएको ट्वाइलेट बनाइएको छ तर चार सय बढी नागरिकले प्रयोग गर्ने कामचलाउ ट्वाइलेटको अवस्था हरिविजोग भैसकेको छ।

परम्परागत पेशा संकटमा परेको भन्दै दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत लगायतका बादी समुदायले खेतीयोग्य जमिन हुनुपर्ने भन्दै धर्ना दिइरहेका छन्। यसअघि प्रदेशसरकारसँग भएको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेतीयोग्य जमिन उपलब्ध गराउन नसकिने समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने बताएका थिए। तर, बादी समुदाय माग सम्बोधन नभएसम्म घर नर्फकिने अडानमा छन् भने अन्य जिल्लाका बादी समुदाय थपिनेक्रम पनि बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell