PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण



निशा गुरुङ

वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौँडा : वाग्मती प्रदेश सरकारले प्रदेशका ५ जिल्लाका अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। आइतवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई  एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री पौडेलले  ‘ख’ वर्गको एम्बुलेन्स मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङबेसी र सिन्धुलीको सिन्धुली माडी अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई प्रदेशको सामाजिक विकास मन्त्रालयको तर्फबाट खरिद गरिएका ‘ख’ वर्गका एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

५ वटा ‘ख’ वर्गको एम्बुलेन्स सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत एक करोड ८६ लाख ७५ हजार रुपैयाँको लागतमा खरिद गरी हस्तान्तरण गरिएको वाग्मती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत बसन्त अधिकारीले जानकारी दिए।

प्रत्येक एम्बुलेन्स २९ लाख २० हजार रुपैयाँमा खरिद गरिएको हो। एम्बुलेन्समा वातावरणसहित अत्याधुनिक उपचारसेवा उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम राज सेढाईले जानकारी दिए।

उक्त जिल्लाहरुमा स्वास्थ्य उपकरण सहित ‘ख’ वर्गको एम्बुलेन्स सेवा पहिलोपटक उपलब्ध भएको स्वाथ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारी बताए। एम्बुलेन्स हस्तान्तरण गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारका सबै अस्पतालहरुलाई व्यवस्थित बनाउने योजना भएको बताए।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव दिपेन्द्र काफ्ले र हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल मनतव्य व्यक्त गरेका थिए।

प्रदेशका १३ जिल्ला अस्पतालमा अब मिर्गौला रोगी, पेट र स्त्री रोगसम्बन्धि बिरामीहरुलाई तत्काल उपचार प्रकृयामा लैजान दक्ष चिकित्सकहरुको दरबन्दी थप गर्न अत्याधुनिक प्रयोगशालाको स्थापना गर्ने र अस्पताल विकास समितिको अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टबीच समन्वय गराई अस्पतालमा औषधि वितरण प्रणालीमा सहज बनाउनेतर्फ सरकारले गृहकार्य शुरु गरिसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell