![‘कम्फर्टेबल’ सरकार बनाउने प्रचण्डको अभिव्यक्तिको भीम रावलले गरे बचाउ, रघुजी पन्तको ‘पिँडुला काण्ड’बारे दिएनन् जवाफ](https://pahilopost.com/assets/upload/contentthumb/Bhim-Rawal-1.jpg)
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य डा भीम रावलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको बचाउ गरेका छन्। आइतवार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रावलले प्रचण्डको अभिव्यक्तिको बचाउ गरेका हुन्।
अध्यक्ष प्रचण्डले प्राइम टेलिभिजनमा आफूहरुको समूह, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको सहकार्यमा सरकार बनेपछि भारतको लागि पनि कम्फर्टेबल हुने बताएका थिए। प्रचण्डले भनेका थिए, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन। चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ। राम्रो सम्भावना अहिले छ। यो राम्रो सम्भावनामा जानुपर्यो भनेर मैले भनेको छु।’
नेकपा, कांग्रेस र जसपा मिलेर भारतलाई पनि अनुकुल हुने सरकार बनाउने कुरा प्रचण्डले गर्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा रावलले भने, ‘सबै दलहरु मिलेर गयौँ भने लोकतान्त्रिक प्रणाली पनि अगाडि बढ्छ। भारत र चीनसँग सम्बन्ध राम्रो हुन्छ भन्नुभएको हो।’
रावलले आफ्नो समूहका नेता रघुजी पन्तले कोमल वलीको बारेमा गरेको टिप्पणीबारे सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिएनन्।
उनले भने, ‘खै, के भन्नुभयो? त्यो उहाँलाई नै सोध्नुहोस्। अलिक राम्रो होला कि।’
वलीबारे के भनेका थिए पन्तले?
एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौँ वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका थिए।
‘छन् महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। २० औं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर, तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्।
वलीले भने सारी सरक्क सर्काएर गोरा पिँडुला देखाएको भरमा सांसद पाएको पन्तको दावी भिडियोमा देख्न सकिन्छ।
‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिँडुला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो’, पन्तले भनेका छन्, ‘कपाल फुलेर चाउरी पर्या बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।’