PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गयो : दीपक बोहरा



पहिलोपोस्ट

धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गयो : दीपक बोहरा
फाइल फोटो।

बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले मुलुकमा धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गएको बताएका छन्। उनले पैसाको लालचमा धर्म परिवर्तन भइरहेको बताए।

राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई कोटहीमाई गाउँपालिका-७ परसहवामा सम्बोधन गर्दै बोहराले अहिलेको कानुनमा धर्म परिवर्तन गराउनु बर्जित र दण्डनीय भए पनि त्यस्तो कार्यमा लाग्नेलाई कारबाही नभएको बताए।

‘कति मस्जिद टुट्यो, कति मन्दिर टुटे, कति गुम्बा टुटे, तर आजसम्म एकजनालाई पनि कारबाही भएन,’ उनले भने।

हिन्दु मुस्लिम मिलेर बस्दै आएको र दुई समुदायबीच कुनै द्वन्द्व नभए पनि आजको अवस्थामा द्वन्द्व सिर्जना गर्ने प्रयास गरिएको उनले बताए। यस्तोमा हिन्दु राष्ट्र कायम हुनुपर्ने उनले बताए।

‘विश्वमा एक मात्र हिन्दु राष्ट्र नेपाल भन्न पनि गर्व हुन्थ्यो, विश्वमै यसले एउटा पहिचान दिलाउँथ्यो, त्यसैले हाम्रो संस्कृति र सभ्यताको संरक्षण गर्नुपर्छ,’ बोहराले भने।

धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र आवश्यक रहेको उनले बताए। जनता र राप्रपाको माग अगाडि बढाउने उनको भनाइ छ।

पूर्वमन्त्री समेत रहेका बोहराले भने, ‘हामीलाई राजतन्त्र चाहिन्छ, सक्रिय राजतन्त्र होइन, आलंकारिक राजाको रुपमा चाहिन्छ, साँस्कृतिक राजाको रुपमा चाहिन्छ ताकि हाम्रो देशमा राजा रहुन्।’

मर्चवारप्रति आफ्नो लगाव रहेको र मर्चवारमा केही समस्या पर्दा सहयोग गर्न तयार रहेको उनले बताए। मर्चवारमा शिक्षा, सडक, सिँचाईको समस्या रहेको उनले बताए। शिक्षालाई विशेष जोड दिनुपर्ने बोहराको भनाइ छ।

उनले प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीलाई बनाउन आफूले अडान लिएको बताए। नेकपाको भरोसा नगर्न उनले आग्रह समेत गरे। राप्रपा सरकारमा गएको अवस्थामा प्रदेशको राजधानी रुपन्देहीमा फर्काउन सक्दो प्रयास गर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell