PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरबाट सुरु हुने, ७ महिना पछाडि किन?



पहिलोपोस्ट

एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरबाट सुरु हुने, ७ महिना पछाडि किन?

काठमाडौं : नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) सन् २०२१ को सेप्टेम्बर महिनामा हुने भएको छ। एकवर्ष अघि मार्चमहिनामा प्रतियोगिता आयोजनाको पूर्वसन्ध्यामा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित गर्न आयोजक बाध्य भएको थियो।

प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म गर्नका लागि आयोजकले नेपाल क्रिकेट संघ (क्यान) बाट अनुमती पनि लिइसकेको छ। क्यानले कोभिडका लागि आईसीसी र नेपाल सरकारको प्रोटोकललाई मान्दै आयोजकले प्रतियोगिता सञ्चालन गर्ने विश्वास लिएको जनाएको छ। विश्वस्तरीय क्रिकेटरलाई नेपाल भित्र्याउने अवसरको रुपमा अर्थ्याउँदै क्यानले प्रतियोगिता आयोजनाका लागि शुभकामना समेत दिएको छ।

किन त्यति पछाडि?

प्रतियोगितालाई अझै ७ महिना पछाडि सार्नुका पछाडि आयोजकले विभिन्न कारण देखाएको छ। जसमा कोभिड महामारीको अवस्थालाई अझै हेर्ने मौका मिल्ने, त्यतिबेलाको मौसम क्रिकेटका लागि अनुकुल हुने र त्यतिबेलासम्म कोभिडविरुद्धको खोपले पनि एउटा दिशा लिने भएकाले सेप्टेम्बरमा प्रतियोगिता गराउन खोजेको आयोजकले जनाएको छ। त्यस्तै, यो प्रतियोगिता दशैँ भन्दा ठीक अगाडि हुनेभएकाले दशैँ अघि नै क्रिकेटको ‘पर्व’ ल्याएर उत्साहको माहोल बनाउन चाहेको आयोजकले जनाएको छ।

ईपीएलका डाइरेक्टर अमिर अख्तरले अवसरका लागि क्यानलाई धन्यवाद दिँदै पुन ईपीएलको घोषणा गर्नपाउँदा खुशी भएको बताएका छन्।

‘नेपालमा कोरोना महामारीको अवस्था सुधार हुँदै आइरहेको अवस्थामा ईपीएललाई पुन: फर्काउने घोषणा गरिरहँदा खुशी लागेको छ,’ अख्तरले भनेका छन्, ‘नेपालको यो ठूलो खेल उत्सव आयोजनाका लागि योजना बनाउन अझै ६ महिना भन्दा धेरै समयबाँकी रहेकाले यसबीचमा अझै ठूला धेरै ‘अनाउन्समेन्ट’ हरु बाँकी नै छन् जसले नेपाली फ्यानहरुका लागि उत्साह बढाउने छ।

ती पुराना घोषणा

ईपीएलले यसअघि अघिल्लो वर्ष प्रतियोगिता आयोजनाका लागि टेस्ट राष्ट्रका ठूलाठूला खेलाडीहरुको नाम घोषणा गरेको थियो।

नेपाली क्रिकेटमा एकपछि अर्का क्रिकेटका नामहरु आइरहेका थिए इपिएलमा। क्रिकेटका युनिभर्सल बोस क्रिस गेलदेखि उपुल थरंगा, ड्वेन स्मिथ, मोहम्मद सहजादजस्ता खेलाडीहरु इपिएलमा आउने पक्का भएपछि क्रिकेट समर्थकहरु जुर्मुराएका थिए। क्रिकेट हेर्न छुट्टै उत्साह पनि थपिएको थियो र साथसाथै डर पनि। कोरोना भाइरसको कहर त्यतिबेलै बढ्दै जाँदा प्रतियोगिता केहुने भन्ने सुरुबाटै आशंका थपिएको थियो।

यद्यपि आयोजकले पहिले घोषणा गरेका खेलाडीहरु पुन पहिलेकै टीममा आउने हुन् या नयाँ घोषणा हुने हो भन्ने बारेमा स्पस्ट पारेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell