इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि सानदार जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरमाथि आर्सनलले ३-१ गोलअन्तरको जित निकालेको हो।
खेलको छैठौं मिनेटमै घरेलु टोलीले यौरी टिअलमेन्सको गोलमा लेस्टरले अग्रता बनाएको थियो। तर ३९ औं मिनेटमा विलियनको पासमा गोल गर्दै डेभिड लुइजले खेल बराबरीमा ल्याए। त्यस्तै अलेक्जेन्ड्रे लकाजेटले पहिलो हाफको अतिरिक्त समयमा गोल थप्दा पहिलो हाफमा घरेलु टोली २-१ ले पछि रह्यो।
दोस्रो हाफमा आर्सनलका निकोलस पेपेले गोल थपे। र, लेस्टरलाई ३-१ गोलअन्तरले हराउँदै २६ खेलबाट ३७ अंक जोडेको आर्सनल अंकतालिकाको १० औं स्थानमा उक्लिएको छ। उता २५ खेलबाट ४९ अंक जोडेको लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने अवसरबाट चुक्यो। युनाइटेड र लेस्टर समान ४९ अंकसहित तालिकाको क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको भने ६२ अंक छ।
