PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव : स्तरिय सेवा प्रदान गर्न मुख्यमन्त्रीको निर्देशन, विभागीय मन्त्री भने अनुपस्थित



पूजा पन्थी

लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव : स्तरिय सेवा प्रदान गर्न मुख्यमन्त्रीको निर्देशन, विभागीय मन्त्री भने अनुपस्थित

बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पतालमा आउने बिरामीहरुको समस्या समाधान नहुने भन्दै बिरामीलाई स्तरीय र सहज सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई छिटो भन्दा छिटो विस्तार गर्न निर्देशन दिए। अस्पतालको फार्मेसी सेवा विस्तार गर्न नसक्दा अस्पतालमा आउने बिरामीले निजी औषधि पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य गर्न मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका हुन्।

अस्पतालभित्रका गतिविधि नागरिकले बाहिरबाटै देख्न पाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उल्लेख गर्दै अस्पताललाई ठूला पर्खालले घेरेर जनताको पहुँचबाट टाढा बनाउन नहुने उनको भनाई थियो। मुख्यमन्त्री पोखरेलले प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको लुम्बिनी प्रादेशिक अस्पतालको डीपीआरको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

अस्पतालका सटरहरु हटाएपछि सेवा सुधार भएको समेत दावी गर्दै मुख्यमन्त्री पोखरेलले अस्पतालको अहिलेको नेतृत्वले केहि सुधारका काम गरेपनि गर्नुपर्ने काम धेरै बाँकी रहेको बताए। उनले प्रदेशका जनताको मनोविज्ञानमा परिवर्तन ल्याउने गरी आफ्नो सेवालाई विस्तार स्तरीय बनाउन अस्पताल प्रशासनलाई आग्रह गरे।

बिरामी भएपछि समयमै उपचार पाउने नागरिकको हक पूरा गर्ने जिम्मेवारी अस्पताल र स्वास्थ्यकर्मीको भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सोही अनुसार जनशक्तिको ज्ञानलाई अद्यावधिक गराउन पनि आग्रह गरेका थिए।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्यबिमा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै बिमा गरिएका बिरामीहरु उपचारको लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य प्रादेशिक अस्पतालले गर्नुपर्ने बताए।

अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले हाल ५ बेडको आईसीयू र ५ बेडको क्याबिन रहेको अस्पतालमा आगामी बैशाखदेखि बढाएर ५०/५० बेड पुर्‍याइने बताए।

हाल ५ वटा डायलाइसिस मेशिनमार्फत मिर्गौलाका बिरामीहरुको उपचार भइरहेकोमा १२ वटा मेशिन थप गरी सेवा शुरु गर्न लागिएको अध्यक्ष भट्टराईले जानकारी दिए।

विभागीय मन्त्री नै आएनन्

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १११ औँ वार्षिकोत्सवको मुल समारोहमा प्रदेशका विभागीय मन्त्री नै अनुपस्थित भएका छन्। मुख्यमन्त्री शंकर पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा आफ्नो विभाग पर्ने सामाजिक विकास मन्त्री सुदर्शन बराल भने उपस्थित रहेनन्।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी उपस्थिति भएपनि सामाजिक विकास मन्त्री बराल उपस्थित भएका थिएनन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले आफूले शुक्रवार मन्त्री बराललाई कार्यक्रमको लागि समय व्यवस्थापन गर्न आग्रह गरेको बताए।

उनले भने, ‘मन्त्रीज्यूलाई समय लिनको लागि र कार्यक्रममा सहभागिताको लागि हामीले सम्पर्क गरेका थियौँ। तर, उहाँको पूर्वनिर्धारीत कार्यक्रम रहेकोले आउन नसक्ने भन्ने जानकारी दिँदै हामीलाई कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो।’

यता मन्त्रालयले भने मन्त्री बरालको पूर्वनिर्धारित कार्यक्रम रहेको दावी गरेको छ। पाल्पाको रामपुरमा अस्पताल उद्घाटन गर्ने मन्त्री बरालको पूर्व निर्धारित कार्यक्रम रहेको र त्यसको लागि लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरी समेत उतै रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell