PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मध्य तराईमा गर्मी बढेसँगै बालबालिकामा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्यो



पहिलोपोस्ट

मध्य तराईमा गर्मी बढेसँगै बालबालिकामा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्यो

वीरगंज : गर्मी बढेसँगै बालबालिकाहरुमा भाइरल फिभर तथा रुघाखोकीको प्रकोप बढेको छ। मध्य तराईको जिल्ला पर्सा, बारा रौतहटमै प्रकोप बढेको यस भेगका चिकित्सकहरुले बताएका छन्।

फागुनको आधा महिना बितिसकेपछि बिहान ९ बजेपछि नै मौसम गरम हुने गरेको छ। साँझ पनि चिसो कम भएको छ। चिसो मौसमबाट गर्मी मौसममा परिवर्तन हुने क्रममा पनि कतिपय बालबालिका र वृद्धवृद्धाहरुलाई यस्तो नियमित फ्लुहरु लागिरहेको बताइएको छ।

विशेषगरी बालबालिकाहरु रातिको समयमा पङ्खा चलाएर सुत्ने, बिहान-बेलुकाको चिसोमा खाली खुट्टा खेल्ने र मौसम अनुसारको कपडा नलगाउँदा रुघाखोकी र ज्वरोको शिकार भइरहेको चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुका अनुसार यो मौसममा विशेषगरी बालबालिका र वृद्धवृद्धाहरुको ध्यान दिनुपर्ने बताए।

वीरगंजका चिकित्सकहरुका अनुसार अहिले नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगंज हेल्थकेयर, तराई अस्पताल, वयोधालगायत दर्जनौ अस्पताल र क्लिनिकहरुमा विशेषगरी रुघाखोकी, निमोनिया, छातीमा कफ जम्ने, भाइरल ज्वरोलगायतको रोगका बिरामी २० देखि ५० सम्म आइरहेका छन्। नारायणी अस्पतालका फिजिसियन डा आरके सिंहले बच्चाहरुलाई गर्मी बढ्दै गएपछि सोही अनुरुपको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरे।

उनले रातिको समयमा कपडा लगाउन, खानपान ताजा र मनतातो पानी खुवाउने, रुघाखोकीबाट बच्न रातिको समयमा सकभर पङ्खा र एसी नचलाउन तथा रुघाखोकी र  श्वासप्रश्वासमा समस्या देखिए नजिकको स्वास्थ्य चौकी अथवा अस्पतालमा चाँडै उपचार गराउन सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell