वीरगंज : पर्साको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकाको पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा स्थानीय सेवाग्राहीले प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन्। अस्पताल विकास समितिले अस्पताल व्यवस्थापनमा चासो नदिएको र मेडिकल सुपरिडेन्टेन्ट डा अनिल यादवको कमजोरीको कारण अस्पताल सामान्य स्वास्थ्य चौकी झैं बनेको स्थानीय बताउँछन्।
पर्याप्त मात्रामा दक्ष जनशक्ति हुँदा पनि बिरामीहरुले अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन्। बिरामीहरुका अनुसार अस्पतालमा छ जना चिकित्सक दैनिक रुपमा सेवा दिनुपर्ने भए तापनि सातामा छ दिनको लागि छ जनाले आलोपालो डयुटी मिलाएको बताइएको छ।
पोखरिया अस्पतालमा डा अनील यादवको मातहतमा डा विनयकुमार यादव, डा सञ्जय गुप्ता, डा दिपेन्द्र मण्डल, डा मिर्गेन्द्रसिंह यादव, डा सुरेन्द्र यादव गरी छजना चिकित्सकहरुको नियुक्ति छ भने दुई जना स्टाफ नर्स, सरकारबाट दुईजना अहेब र पाँचजना अस्पताल विकास समितिबाट अहेब, सरकारी दरबन्दीमा दुईजना अनमी र अस्पताल विकास समितिबाट पाँच जना अनमी गरी कार्यालय सहयोगीको दरबन्दी छ। तर एक दिनमा एकजना चिकित्सक मात्र आउने हुनाले बिरामीहरु घन्टौ लाममा टिकट काटेर कुर्नुपर्ने उनीहरुको भनाइ छ।
दैनिक रुपमा पोखरिया अस्पतालमा सयदेखि डेढ सयजनाको हाराहारीमा बिरामी आउने गरे तापनि अस्पतालको सेवा खस्किँदै गएपछि अहिले दैनिक पचास जनाको मात्र बिरामी आउने गरेका छन्। गाउँलेहरुले राम्रोसँग अस्पताल चलाउनु छ भने चलाउने नत्र बन्द गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।यस विषयमा अस्पताल विकास समितिका अध्यक्ष एवं पोखरिया पोखरिया नपा–४ का वडाअध्यक्ष लक्ष्मणसाह कानूले सोमवार अस्पतालका मेसु डा यादवलाई बोलाएको र उनीसँग सोधपुछ गर्ने बताए। चिकित्सकको लापरवाही देखिए उनीहरुलाई कारबाई गर्ने चेतावनी उनले दिए। यता, अस्पतालका मेसु डा यादवले दैनिक रुपमा बिरामीको सङ्ख्या घटेकोले केही चिकित्सक अनुपस्थित भएको प्रतिक्रिया दिए।
