PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिए, लिभरपुलको जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिए, लिभरपुलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। ब्रमल लेनमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको घरेलु टोली सेफिल्डमाथि लिभरपुलले २-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लिभरपुलले अग्रता बनाएको थियो।

खेलको ४८ औं मिनेटमा कर्टिस जोन्सको गोलमा अग्रता बनाएको लिभरपुलले दोस्रो आत्मघाती गोल उपहारमा पाएको थियो। ६४ औं मिनेटमा घरेलु टोलीका किम ब्रयनले आत्मघाती गोल गर्दा लिभरपुलले दोस्रो गोल गर्‍यो। र, २-० ले घरेलु टोलीमाथि जित निकाल्यो।

योसँगै २६ खेल खेलेको लिभरपुल हारको लामो शृङखला तोड्दै ४३ अंक जोडेर तालिकाको छैठौं स्थानमा उक्लिएको छ। त्यस्तै चेल्सीसँग बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाउने होडमा पछि परेको छ। दोस्रो स्थानमा २६ खेल खेलेर ५० अंक जोडेको म्यानचेस्टर युनाइटेड छ भने शीर्षस्थानमा समान खेल खेलेर ६२ अंक जोडेको सिटी छ। त्यस्तै बराबरी खेलेको चेल्सी २६ खेलबाट ४४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै जारी सिजन तीनवटामात्र जित निकालेको सेफिल्ड युनाइटेड ११ अंक जोड्दै तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell