PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रदेश १ को कोभिड उपचार केन्द्रमा छैनन् संक्रमित : मुख्यमन्त्री राईले उद्घाटन गरेदेखि प्रयोगविहीन, 'अब बन्द गर्ने कि बदल्ने?'



फूलमाया पुरी

प्रदेश १ को कोभिड उपचार केन्द्रमा छैनन् संक्रमित : मुख्यमन्त्री राईले उद्घाटन गरेदेखि प्रयोगविहीन, 'अब बन्द गर्ने कि बदल्ने?'

मोरङको विराटनगर-१०स्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र। कोरोना संक्रमित बढेपछि गत चैत २१ गतेबाट कोरोनाका बिरामीका लागि उपचार केन्द्र तोकियो। त्यति बेला बाक्लो चहलपहल देखिन्थ्यो यो क्षेत्रमा।

हिजोआज भने यो केन्द्रमा चरोमुसो देखिन्न। बाहिर सुरक्षागार्ड बस्नका लागि राखिएको मेच खाली देखिन्छ, गेटको दुईतिर राखिएका कोरोनासम्बन्धी चेतनामुलक पोस्टर उल्टोपाल्टो परेका छन्।

फलामे गेट बन्द नै छ। त्यही गेटको बीचमा सेतो कागजमा लेखिएको छ : कोभिड भ्याक्सिन लिन जाने ठाउँ। बायाँपट्टी १० लाख कोभिड-१९ खोप भारतका जनताबाट नेपालका जनतामा उपहार लेखिएको नेपाल भारत मैत्री संघ विराटनगरको चिटिक्कको बोर्ड टाँगिएको छ।

गएको चैत २१ गते पुरानो र पुस ५ गते नयाँ भवन मुख्यमन्त्री शेरधन राईले तामझामका साथ उद्घाटन गरेका थिए। उक्त कोभिड अस्पतालको अवस्था कस्तो छ, पछिल्लो दिन कोरोना संक्रमितको उपचार अवस्था कस्तो छ? यिनै प्रश्न लिएर हामी पुगेका थियौं केन्द्रमा।

गेटमा हामी उभिएको देखेपछि भित्रबाट एक जना आइपुगे। उनी रहेछन् कार्यालय सहयोगी मोहन श्रेष्ठ। दोहोरो परिचयपछि हामी लाग्यौ केन्द्रभित्र।

पुरानो भवनमा करिब एक सय  र नयाँमा १०३ गरी दुई सय बढी बेड क्षमता भएको दुई वटा भवन रहेछन्। केन्द्रभित्र पुगेपछि थाहा लाग्यो यहाँ कोरोना संक्रमित बिरामी कोही छैनन्। नयाँ पुरानो दुवै आइसोलेसन वार्ड खाली।

पहिलो दुई तले भवन जुन कोरोना संक्रमितहरुको उपचारका प्रादेशिक रुपमा खडा गरिएको केन्द्र। पूरानो नेसनल ट्रेडिङको भवनमा, प्रदेश १ का सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत विभिन्न मन्त्रालयहरु तथा स्थानीय सरकारको सहयोगमा संचालित रहेको छ। जसको क्षमता ७१ बेडको जनरल वार्ड, १० बेडको आइसीयू र १० बेडको एचडीयू हो।

पुरानो भवनमा रहेको आइसोलेसनभित्र पस्नुअघि सर्जिकल हामीलाई हातमा लगाउन पञ्जा दिए। त्यस्तै फेससिल्ड, चश्मा अनि एन नाइन्टी फाइभ मास्क पनि।

पहिलो भवनको दोस्रो तलाको कोठा नम्बर २९ हुँदै हामी लाग्यौं। कुनै प्रशासनिक कोठा त कुनै प्रयोग भएका सामाग्री भेला गरेर राखिएका कोठा। धेरै जसो कोठाहरुमा बेडहरु थिए, जुन संक्रमितहरुको उपचारका लागि व्यवस्था गरिएको हो। ती बेडहरुमा धुलोमैलो लाग्न लागेको थियो।

पुरानो आइसोलेसन वार्डबाट बाहिरिएपछि मास्क फेसिल्डलगायत सबै सामग्री डस्बिनमा फाल्यौं। अनि बाहिर राखिएको ह्याण्डवासले हात धुन आग्रह गरे श्रेष्ठले।

त्यसपछि लाग्यौं नजिकैको एचडीयू आइसोलेसनतर्फ। टिनको छाना लगाएर बनाइएको उक्त आइसोलेसनतर्फ ग्रीन जोन लेखिएको छ। त्यहीँ रहेछन् पारामेडिक्स जितेन्द्र चौधरी पनि।

ग्रिन जोनबाट दुईवटा जनरल वार्ड हुँदै भित्र पुग्ने ठाउँमा शिलापत्र टाँसिएको रहेछ। जसमा लेखिएको थियो, ‘प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्मित कोभिड अस्पतालको माननीय मुख्यमन्त्री शेरधन राईज्यूबाट समुद्घाटन सम्पन्न भयो।

इति सम्वत् २०७७ साल पौष ५ गते रोज १ शुभम्’। 

त्यसपछि रेड जोन हुँदै हामी हाइ डीपेन्डेन्सी यूनिट(एचडीयू) लेखिएको वार्डमा पुग्यौं।

नयाँ आइसोलेसन वार्ड चिटिक्क देखिन्थे, सफा, शान्त। लाइनै मिलाएर राखिएका सुविधा सम्पन्न आधुनिक बेडहरु। हरेक बेड छेउमा डस्बिन राखिएको र भेन्टीलेटर जोडिएको।

‘यो त एउटै साढे तीन लाखको बेड हो रे,’ बेड देखाउँदै कार्यालय सहयोगी तारासिंह यादवले भने।

‘संसद विघटन भएकै दिन उद्घाटन भएको, अहिलेसम्म कोही पनि आएको छैन’ पारामेडिक्स चौधरीले थपे।

केन्द्रको तथ्याकंअनुसार एक सय बेड क्षमता भएको पुरानो भवनमा रहेको आइसोलेसन वार्डमा हालसम्म ८२९ जना संक्रमितहरु उपचाररत थिए। जसमा ३०८ महिला र ५२१ पुरुष संक्रमितहरु रहेका छन्। ती मध्ये २७८ महिलासहित ७४० जना संक्रमण मुक्त भइ घर फर्किए। तर १९ महिला र ३७ पुरुषले त्यहीँ ज्यान गुमाए। ११ महिला र २२ पुरुषलाई अन्यन्त्रै रेफर गरिएको थियो।

यादवका अनुसार हाइ डिपेन्डेन्सी यूनिटमा रहेका ३१ बेडसहित १०३ बेड हालसम्म संरचना बनाएदेखि प्रयोगमा आएका छैनन्। तर यहाँ कार्यरत ४० भन्दा बढी कर्मचारी कोभिड अस्पताल आइरहेका छन्।

गत असोजमा करारमा नियुक्त भएका पारामेडिक्स चौधरी हरेक दिन कोभिड अस्पताल आउँछन्। छ महिनाका लागि आएका उनको यही फागुन २८ गते कार्यावधि सकिँदैछ। त्यस्तै कार्यालय सहयोगीहरुको चैत २८ गते कार्यावधि सकिने व्यवस्थापनमा खटिइरहेका एपोलो भगतले जानकारी दिए।

अब बन्द गर्ने कि बदल्ने?

भगतका अनुसार एक महिनादेखि संक्रमित संख्या शुन्य छ। तर आठ/आठ जना चिकित्सक, नर्स र एचएलगायतको स्वास्थ्यकर्मी टोली खटिइरहेको छ। त्यस्तै ९ जना कार्यालय सहयोगी तीन जना स्विपर दुई/ दुई जना इलेक्ट्रीसियन र पलम्बर पनि त्यहीँ खटाइरहेको अवस्था छ। दुई जना सुरक्षा गार्ड, एक जना माली र दुई जना नेपाल सरकारका कर्मचारी व्यवस्थापनमा खटिएका छन्।

उनीहरुमध्ये केही चिकित्सकहरु केन्द्र नजिकैको अभिवादन होटलमा बस्छन्। केही घरबाटै आउजाउ गर्छन्। स्टाफ नर्सलगायत बाँकी कर्मचारीका लागि त्यहीँ एक घर भाडामा लिइ खाना बस्ने व्यवस्था गरिएको उनले बताए।

जिल्लाबाट आएका स्वास्थ्यकर्मीहरु आआफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन्। कोभिड अस्पतालकै लागि भनेर प्रदेश सरकारबाट करारमा नियुक्त गरेकाहरु भने हालसम्म कार्यरत नै छन्। केस शुन्य भए पनि कर्मचारीहरुलाई बिदा गरिसकेको अवस्था नभएको बताउँछन् कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.चुमनलाल दास।

‘करिब एक महिनादेखिन नै कोरोना संक्रमितको अवस्था शून्य भएको हो’ उनले बताए उनले भने ‘केश सून्य भए पनि उपचार केन्द्र नै बन्द गर्ने भन्ने निर्णय भइसकेको छैन।’

क्लिनिकल म्यानेजमेन्ट कोशी अस्पतालले गरिरहेको छ भने बाँकी व्यवस्थापन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरिरहेको उनले जानकारी दिए।

कोरोना संक्रमण कम भएसँगै संरचना खडा भएको कोभिड उपचार केन्द्रलाई भोलिका दिनमा कुनै विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने अवसर भएको दास बताउँछन्।

उनका अनुसार प्रदेश सामाजिक विकासमा मन्त्रालयमा अनौपचारिक रुपमा ती संरचनाको सदुपयोगका विषयमा सामान्य चर्चा शुरु भएको छ। तर ठोस निर्णय भइसकेको छैन। उक्त संरचनालाई मुटु रोग विशेष अस्पताल बनाउन उपयुक्त देख्छन् उनी।

‘मुटु रोग, क्यान्सरको उपचार या त प्रसुति गृहका रुपमा सञ्चालन गर्ने कि भन्ने सुझावहरु आइरहेका छन्,’ उनले भने ‘ती मध्ये मुटु रोग विशेष अस्पताल बनाउन उत्तम देखिन्छ।’ अन्य रोगभन्दा मुटु रोगले मान्छे छिटो मृत्युको मुखमा पुग्ने हुँदा अरुजस्तो उपचारमा तत्काल लैजाने समय नै पाइने अवस्था हुन सक्छ। त्यसैले यही संरचनालाई सदुपयोग गर्न सकिने उनको तर्क छ।

त्यसो त कोरोना संक्रमितका लागि बनाइएको संरचनालाई कुनै विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्ने भन्ने अनौपचारिक छलफल शुरु भएको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीको भनाई छ। वर्तमान अवस्थामा राजनीतिक माहोलका कारण अहिले उक्त विषय ओझेलमा पर्न गएको उनले बताए।

कुन अस्पताल भन्ने विषयमा औपचारिक छलफल भए पनि प्रदेश र संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेको उनले बताए।

कार्कीका अनुसार करिब २० करोड बराबरको लगानीमा उक्त संरचनाहरु खडा गरिएको हो।

‘प्रदेश १ मा अहिले कोरोना शुन्य जस्तै बनेको छ’ उनले भने ‘तर पनि देशमा अझै केही संख्यामा देखिइरहेको अवस्था भएकाले भोलि फेरी संक्रमण फैलिन सक्ने हुँदा अस्पताल पूर्ण रुपमा बन्द गरिएको छैन।’ सामाजिक विकास मन्त्रालयको तथ्याकं अनुसार प्रदेश १ मा आइतवार ४ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म संक्रमितको संख्या ३० हजार २०५ पुगेको छ। जसमध्ये २९ हजार ७१९ जनाले संक्रमणलाई जितेका छन्। त्यस्तै हाल २१ जना आइसोलेसनमा उपचाररत छन्। चार सय ६५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए।

कोरोना महामारी जस्ता भविष्यमा आउने विपत्तीमा उपचारका लागि उक्त एचडीयू सुरक्षित भएको निर्माणमा सहकार्य गरेको नागरिक केयर सेन्टरका पवन कुमार सारडा बताउँछन्।

सारडाको अनुसार एचडीयू आइसोलेसन निर्माणमा विराटनगर प्रदेश सरकार, महानगरपालिका, नीजि क्षेत्रलगायतको नागरिक समाजको आर्थिक सहयोग रहेको थियो। ४० दिनमा उक्त आइसोलेसन निर्माण सम्पन्न गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell