आन्दोलनकारीमाथि गोली चलाउँदा म्यान्मारमा कम्तिमा १८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले जनाएको छ। सैनिक 'कु' विरुद्ध उत्रिएको र्यालीमा प्रहरीले गोली प्रहार गरेको हो।
प्रहरीको गोलीबाट यंगुन, दावेइ र मण्डालेमा आन्दोलनकारीहरुको मृत्यु भएको हो। प्रहरीले गोली र अश्रु ग्यास प्रहार गरेको थियो।
फेब्रुअरी १ मा भएको सैनिक कुविरुद्ध शनिवार व्यापक प्रदर्शन भएको थियो। शान्तपूर्ण रुपमा संचालित हुँदै आएको आन्दोलन एकाएक भड्किन पुगेपछि हिंसात्मक अवस्था निम्तिएको हो।
आङसाङ सुकी लगायतका नेताहरुलाई सैनिक सरकारले नियन्त्रणमा नै राखिरहेको छ।
सोसल मिडियामा गोली प्रहार हुँदाका दृष्यहरु सार्वजनिक भएका छन् जसमा प्रहरीले प्रहार गर्न थालेपछि आन्दोलनकारीहरु तितरवितर भइरहेको देखिन्छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभनले बाइडेन प्रशासनले म्यानमारमा भएको हिंसात्मक घटनालाई लिएर थप 'एक्सन' लिने जनाएका छन्।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले कम्तिमा १८ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको छ। आइतवार कम्तिमा १८ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएको उसले जनाएको छ।
यंगुनमा कम्तिमा ४ जना मानिस मारिएका छन्। आन्दोलनकारीहरुले प्रहरीले कुनै चेतावनी नै नदिइ गोली प्रहार गरेको दावी गरेका छन्।
