PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पत्रकार महासंघको चरित्र साझा भएन, अबको निर्वाचनले साझा बनाउन सकोस्



पहिलोपोस्ट

पत्रकार महासंघको चरित्र साझा भएन, अबको निर्वाचनले साझा बनाउन सकोस्

  • इन्द्र राउत -

नेपाल पत्रकार महासंघ २६ औं महाधिवेशन सम्पन्न गरि निर्वाचनको अन्तिम तयारीमा जुटेको छ। आम श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी, पूर्ण प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति, नागरिक अधिकारहरुको संरक्षण, जनपक्षीय, जनउत्तरदायी तथा निष्पक्ष एवम् जिम्मेवार प्रेस अभ्यासको नियमन जस्ता महत्वपूर्ण दायित्व र जिम्मेवारी बोकेको नेपाल पत्रकार महासंघ स्वायत्त संस्था हो। तर, पनि यसले स्वायत्त रुपमा आफ्नो दायित्व र जिम्मेवारी वहन प्रभावकारी रुपमा सम्पादन गर्न नसकेको आम श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुको अनुभूति रहँदै आएको छ।

पत्रकार महासंघको नीति निर्माण तथा कार्यसम्पादनमा सरकार, वैदेशिक आइएनजीओ र कर्पोरेट मिडियाको प्रभाव देखिने र अनुभूति हुने गरि प्रकट हुँदै आएको छ। परिणामतः पत्रकार महासंघ आफ्नै घोषित लक्ष्य र उद्देश्यमा खरो उत्रन सकिरहेको छैन।

नेपाली समाजको बौद्धिक सार अभिव्यक्त हुने यो संस्थाको नेपाली समाजको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका रहँदै आएको छ। सधैँ अग्रगामी राजनीतिको पक्षमा आवाज बुलन्द गर्दै आएको यो संस्थालाई फेरि पनि एउटा महत्वपूर्ण र ऐतिहासिक भूमिका खेल्नुपर्ने अभिभारा परिस्थितिले सुम्पिएको छ।

देशको शासन व्यवस्था प्रतिगामी र फासिवादी दिशातिर उन्मुख हुँदै जाँदा विगतका युद्ध र आन्दोलनबाट प्राप्त नागरिक अधिकारहरु खोसिन थालेका छन् भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेपका घटना बढेर गएका छन्। भुराजनीतिक दाउपेच र स्वार्थका कारण वैदेशिक हस्तक्षेप र चलखेल तीव्र बन्दै जाँदा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको प्रश्न पनि निकै संवेदनशील बन्दै गएको छ। सरकारका जनविरोधी नीतिहरुका कारण आज जनजीवन पनि दिनानुदिन कष्टकर बन्दै गएका छन्।

मिडिया क्षेत्रमा बढ्दो विदेशी तथा स्वदेशी अपारदर्शी लगानी र कतिपय प्रायोजित विषयवस्तुहरुले नेपाली समाजलाई भ्रमित तुल्याउने र गलत बाटोतिर दिशाबोध गर्ने गरेको छ। यी लगायत जनसरोकारका धेरै विषयवस्तुहरुको उठान र समाजको अग्रगामी रुपान्तरणमा पत्रकार महासंघले खेल्नुपर्ने भूमिका उसको दायित्व र जिम्मेवारीभित्र पर्दछ।

महासंघमा साझा र छाता चरित्र कायम भएन भनेर लामो समयदेखि बहस र विवाद हुँदै आएको छ। र, साझा र छाता चरित्र कायम नहुँदा आफ्ना जिम्मेवारी र दायित्व वहन प्रभावकारी रुपमा गर्न नसकेको विषय पनि त्यही रुपमा उठ्दै आएको छ। महासंघलाई साझा बनाउने भनेको मूलतः बैचारिक हिसाबले साझा बनाउने भन्ने नै हो। नेपाली समाजको बनोट अनुसारको समावेशी बनाउने जिम्मेवारी पनि छँदैछ। तर, लामो समयदेखि एकै विचार र दृष्टिकोण राख्ने संघ संगठनहरुको नै महासंघमा वर्चस्व रहँदै आयो। फरक विचार र दृष्टिकोण नहुँदा महासंघमा 'चेक एण्ड ब्यालेन्स'को स्थिति रहेन। नीति निर्माणदेखि त्यसको कार्यान्वयन तहसम्म अमुक विचार, दृष्टिकोण र राजनीतिको मात्र प्रभाव रहँदा महासंघले सबै सामाजिक मनोविज्ञानको प्रतिनिधित्व गर्न सकेन।

तसर्थ, पत्रकार महासंघको कार्य सम्पादनप्रति सार्वजनिक रुपमा प्रश्नहरु उठ्ने गरेका छन्। र, यसप्रतिको विश्वास र आकर्षणमा कमी आउने गरेको छ। यसर्थ, हामीले पत्रकार महासंघलाई वैचारिक लगायत सामाजिक बनोटको प्रतिविम्बन हुने गरि  साझा र समावेशी बनाउनुपर्ने विषयमा विशेष जोड दिँदै आएका छौं र हौं। हालै चारवटा पत्रकार संगठनबिचको सहकार्यको सहमतिको आधार पनि यसैमा अन्तर्निहित रहेको छ।

दोस्रो कुरा, नेपाल पत्रकार महासंघ सामाजिक आन्दोलनको जेठो, अग्रणी तथा नेतृत्वदायी संस्था हो। नेपाली बौद्भिकताको सार अभिव्यक्त हुने संस्थामा गरिने हरेक क्रियाकलाप र अभ्यासमा आम समुदायको समेत चासो, चिन्ता र सरौकार रहनु स्वभाविक हुन्छ। कतिपय मुद्दामा नेपाली राजनीतिलाई समेत अग्रगामी दिशावोध गर्दै आएको यो संस्थाले एकातिर आसन्न निर्वाचन कम खर्चिलो, मर्यादित र पारदर्शी ढंगले सम्पन्न गर्न जरुरी छ भने अर्कोतिर महासंघको नेतृत्व हत्याउन, आफ्नो वर्चस्व स्थापित गराउन संसदीय निर्वाचनमा जस्तो भ्रष्ट संस्कृति अपनाउने, पैसाको खोलो बगाउने, महासंघको विधान विपरीत तथा  अमर्यादित क्रियाकलाप गर्ने र महासंघलाई नै बद्नाम र घृणित तुल्याउने कामलाई निषेध तथा नियन्त्रण गरिनु पर्दछ।

प्रत्यक्ष निर्वाचनको पहिलो अभ्यास पनि भएकोले र समाज र राजनीतिलाई समेत दिशाबोध गर्ने  नेपाली बौद्भिकताको सार अभिव्यक्त हुने एउटा अग्रणी सामाजिक संस्था समेत भएकोले महासंघमा सहमतीय संस्कृतिको थिति बसाल्न जरुरी छ। तसर्थ, आगामी निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्ने गरि सबै सरोकारवाला संघ संगठनहरुले भूमिका खेल्न आवश्यक छ। वर्चस्ववादी, प्रभुत्ववादी र बिर्तावादी मानसिकताबाट मुक्त भई सबैको अस्तित्व स्वीकार्ने र साझा प्रतिनिधित्व सहितको पूर्ण लोकतान्त्रिक अभ्यास गर्ने मानसिकताको विकास गर्ने हो भने सहमतीय प्रणालीबाट निर्वाचन सम्पन्न गर्न सम्भव छ। त्यसका निम्ति सम्बन्धित सबै पक्षले पहल गरौं।

(लेखक क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell