PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

उधारोमा बन्दै गौतमबुद्ध स्टेडियम : रकम जुटाउन सुरु भयो अभियान, 'मेरो कुर्सी' को मूल्य एक लाख



मुकुन्द घिमिरे

उधारोमा बन्दै गौतमबुद्ध स्टेडियम : रकम जुटाउन सुरु भयो अभियान, 'मेरो कुर्सी' को मूल्य एक लाख

काठमाडौं : चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धुर्मुस सुन्तली फाउण्डेसनले 'हाम्रो रंगशालामा मेरो कुर्सी' अभियान सुरु गरेको छ। फाउण्डेसनले आज पत्रकार सम्मेलन गर्दै अहिलेसम्मको आयव्यय सार्वजनिक गर्दै रंगशाला निर्माणका लागि थप रकम जुटाउन कार्यक्रम अघि सारेको जनाएको हो।

रंगशालाको ३० प्रतिशत काम सम्पन्न गरेको दाबी फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले गरे। आज सार्वजनिक गरिएको विवरण अनुसार फाउण्डेसनले ११ करोड भन्दाबढी उधारोमा काम गरिएको देखिन्छ।

'रंगशाला निर्माणको कुल लागत डीपीआर रिपोर्ट आइसकेपछि कुल ३ अर्ब ५५ करोड रहेको तर २०७७ सम्ममा परियोजनका लागि ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्र सङ्कलन भइ ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको र ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋणात्मक रहेकाले अपेक्षित रुपमा निर्माण कार्य अघि बढाउन नसकिएको अवस्था छ।' फाउण्डेसनको विवरणमा भनिएको छ। अध्यक्ष कट्टेले घोषणा भएको केही रकम उठ्न बांकी रहेको बताउँदै रोकिएको रकम चाँडै संकलन हुनेमा  आफूहरु आशावादी रहेको सुनाए। 

फाउण्डेसनले परियोजना निर्णाणमा कुल लागत रकमको ९.१० प्रतिशतमात्र रकम संकलन भएको र क्रिकेट मैदानको काम भने ८५ प्रतिशत सम्पन्न भइसकेको दाबी गरेको छ। त्यस्तै प्यारापिटतर्फ ३० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।

'हाम्रो रंगशालामा मेरो कुर्सी'

सोमबारको कार्यक्रम मार्फत फाउण्डेसनको खेल विभागका प्रमुख दीपक विष्टले 'हाम्रो रंगशाला मेरो कुर्सी' अभियान एक भिडियोमार्फत सार्वजनिक गरे।

यस अभियान अन्तर्गत प्रत्येक व्यक्ति, संस्था र समूहले आआफ्नो नाम वा परिवारको साथै अन्यको नाममा कुर्सी सुरक्षित गर्न सक्नेछन्। जसका लागि प्रति कुर्सी एक लाख रुपैयाँ सुरक्षित हुने कट्टेलले जनाकारी दिए। यसबारेमा थप विवरण पछि सार्वजनिक गरिनेछ।

हालको प्रगतिको आधारमा यदि कुर्सी अभियानबाट अपेक्षित रकम संकलन गर्न सके अबको १८ महिनाभित्र रंगशाला निर्माणको काम सम्पन्न हुने फाउण्डेसनको दाबी छ। रंगशालामा ३० हजार कुर्सीहरु रहने छ। त्यस्तै हरेक जिल्लाको नाममा र प्रदेशकोको नाममा ब्लकहरु बनाइने बताइएको छ।

धुर्मुसले गुहारे सरकार

फाउण्डेसनका प्रमुख धुर्मुसले रंगशाला निर्माण सबैको अभियान भएकाले सरकार लगायत सबै यसमा जोडिनुपर्ने बताए। उनले यो रंगशालामात्र ठड्ने नभएर हरेक नेपालीको मन, चाहना र इच्छाशक्ति ठडिने दाबी गरे। त्यस्तै यो परियोजनाको घोषणाका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएर उपस्थित भएको स्मरण गर्दै यसमा अब सरकारको पनि सहयोगको आवश्यकता रहेको आशय व्यक्त गरे।

'जुन सरकार आए पनि हामी मात्र सरकारलाई सघाउने अभियन्ता हौं। र सम्बन्धित मन्त्रालय, खेलकुद परिषद, क्रिकेट संघ सबैलाई म आग्रह गर्न चाहन्छु हामी सहयोगीमात्र हौं। मध्यस्तकर्तामात्र हौं। क्रिकेट खेलाडीहरुलाई पनि अपिल गर्न चाहन्छु। यो यहाँहरुले खेल्ने एउटा मन्दिर हो। सबै जिल्लाबाट खेलाडी छानेर प्रशिक्षित गरेर खेलाडी उत्पादन गर्ने एकेडेमिक मोडलको रंगशाला भएकाले यो अवधारणालाई अघि बढाउन उहाँहरुको विशेष दायित्व हुन्छ होला,' उनले भने, 'उहाँहरुबाट ठूलो योगदान होस भन्ने पनि चाहन्छु। खेलकुदसँग सम्बन्धित सबै संघसंस्था, निकायहरुलाई आग्रह गर्न चाहन्छु र सरकारलाई पनि यो अभियानमा जोडिनका लागि अनुरोध गर्छु। किनभने हामी हाम्रै देशभित्रै रंगशाला बनाइरहेका छौं। नेपालीले बनाइरहेका छौं। त्यसैले सबै पक्षलाई जोडिन आग्रह गर्छु।'

त्यसअघि फाउण्डेसनका कानुनी सल्लाहकार टीकाराम भट्टराईले पनि सरकार रंगशाला निर्माण अभियानमा अझै नजोडिएको जानकारी पाएको भन्दै यसमा जोडिन सरकारलाई आह्वान गरेका थिए। उनले परियोजनाको घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रतिपक्षी दलका महामन्त्री शशांक कोइरालाले समेत उपस्थित भएर सहयोगको आश्वासन दिएको स्मरण गर्दै यस परियोजनामा जोडिन अपिल गरे।

'मैले अघि पनि सीतारामजीलाई खुसुक्स सोधेँ तर सरकारी स्तरबाट वा राजनीतिक तहबाट कुनै सहयोग यो फाउण्डेसनले पाएको छैन।' उनले भने, 'अब यो अवस्थामा जनस्तरबाटै सहयोग जुटाएर ऋणपान गरेर जसरी फाउण्डेसनले काम गरिरहेको छ यसमा सबैले सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो।'

उनले थोरै राजनीति मिसाउँदै राजनीतिकर्मीहरु हाँस्यविधामा प्रवेश गरिसकेकाले धुर्मुस सुन्तलीको असली विधा छायाँमा पर्लाकी भन्ने डर रहेको भन्दै ब्यङग्य समेत मिसाए।

हरिबंशको बिर्सने बानी, मदनकृष्णको पाठ

कार्यक्रममा फाउण्डेसनका सल्लाहकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले परियोजनाका लागि शुभकामना दिए। सुरुमा बोलेका हरिबंशले बिर्सने बानीले आफू हैरान भएको सुनाउँदै सबैलाई हँसाए।

'अतिकति उमेर पनि ढल्कँदै गएको हुनाले टाइम दिएको हुन्छ एकातिर। मोबाइल पनि कमै हेर्न मन लाग्छ। हेर्‍यो भने टेन्सन भइहाल्छ। मेन्टेन गर्न गाह्रो भइरहेको छ,' उनले अगाडि भने, 'आज पनि बिहान एउटा कार्यक्रम सकेर अर्को कार्यक्रमका लागि समय मिलाएको थियो धुर्मुस भाइले ११ बजे कै कुरा गर्दा पो छाँगाबाट खसे जस्तो भयो।'

व्यक्तिको पहलमा जनस्तरबाट सम्पन्न भएको पहिलो प्रोजेक्ट सायद यही हुनुपर्ने भन्दै आचार्यले तस्बिर आँफै बोल्छ भनेझै रंगशालाले आकार लिन थालेकोमा खुशी सुनिए।

त्यसपछि आएका मदनकृष्ण श्रेष्ठले मन्दिरको घण्टीको कथा सुनाउँदै हाम्रो रंगशाला मेरो कुर्सी अभियानको औचित्य पुष्टि गर्न चाहे।

'अर्काको पैसा उठाएर उसले बनायो भन्ने पनि सुनेको छु कतिले। अर्काको पैसा हैन। हामीले हाम्रै पैसा उठाएर हाम्रै काम गरिरहेका छौं। यो सरकारले गर्ने काम आफै गर्नु ठूलो कुरा हो। अझै कसैले सक्छ भने उसले पनि गर्दा हुन्छ,' श्रेष्ठले भने, 'म यसो गर्दैछु पैसा ल्याउ भन्दैमा पैसा आउँदैन। मान्छेले विश्वास नै गर्दैन। पहिला त विश्वास जित्नु पर्छ र विश्वास जित्नलाई विश्वासिलो काम गर्नुपर्छ।'

कार्यक्रमको अन्त्यमा बोलेका फाउण्डेसनका प्रमुख कट्टेलले भने : स्ट्याण्ड ए मा १५ र बी मा १५ गरी ३० हजार जनाले स्टेडियममा बसेर खेल हेर्ने हो। वैशाख सम्ममा ३ हजार दर्शकले हेर्न सक्ने प्यारापिट बनाउनका लागि हामी अहोरात्र खटिइरहेका छौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell