PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजनीतिक क्षेत्रमा आफ्ना परिवारलाई व्यवस्थापन गर्ने परम्परा अन्त्य हुनुपर्छ : लुम्बिनीका सभामुख घर्ती



पूजा पन्थी

राजनीतिक क्षेत्रमा आफ्ना परिवारलाई व्यवस्थापन गर्ने परम्परा अन्त्य हुनुपर्छ : लुम्बिनीका सभामुख घर्ती

बुटवल : लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्तीले राजनीतिक नेतृत्वले अझैपनि प्रशासनिक संरचना फेर्न नसकेको बताएका छन्। उनले राजनीतिक क्षेत्रमा आफ्ना परिवार आफन्तलाई व्यवस्थापन गर्ने परम्परा अन्त्य हुनुपर्ने बताए। उनले यो अवस्थाले राम्रा दक्ष व्यक्तिहरुले स्थान नपाएको बताएका छन्।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको प्रभावकारीता र खुलापनको कसीमा लुम्बिनी प्रदेशसभा विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लुम्बिनी प्रदेश सरकारबाट बनेका ऐन कानुनहरु कार्यान्वयनमा ल्याउनको लागि सबैको पहल आवश्यक रहेको बताए।

उनले ऐन निर्माणका विषयमा भइरहेका छलफल अझैपनि पर्याप्त नभएको बताउँदै अझै धेरै छलफल हुनुपर्ने बताए। अन्य प्रदेशको भन्दा धेरै कानुन निर्माण गरेको बताउँदै उनले जनताले प्रत्यक्ष अनुभव गर्ने खालका कामहरु बनिरहेको दाबी गरे।

उनले भने, ‘लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै ऐन निमयकानुनहरु बनाएको छ। ५९ वटा बनायौँ। अझै कार्यान्वयनको कुरामा भने समस्या छन्। त्यसको समाधानका कामहरु गरिरहेका छौँ।’

उनले लुम्बिनी प्रदेशसभाका विषयगत समितिहरुका बैठकहरु नियमित नभएको बताउँदै प्रदेशसभा बैठक नचलेको बेलामा समेत समितिका बैठकहरु बसेर काम गर्न सुझाव समेत दिएका छन्।

प्रदेश सभा उपसभामुख कृषि थारुले कानुन निर्माणमा समस्याहरु रहेको बताउँदै त्यसलाई समाधान गर्न नियमित छलफल हुनुपर्ने बताइन्। उनले छलफलबाट निस्कने नतिजा उत्कृष्ठ हुने बताउँदै यो कार्यमा सबैले चासो राख्न आग्रह गरिन्।

उनले आफूहरुले शून्य अवस्थामा रहेको प्रदेशसभाबाट सिस्टम बसाल्ने काम गरेको बताउँदै अब आउने नेतृत्वले यहि सिस्टमबाट काम गर्ने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell