PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?



सविन ढकाल

जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?
पोखरामा प्रधानमन्त्री।

काठमाडौँ : 'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।'

मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यो अभिव्यक्ति त त्यस्ता व्यक्तिको हो जो सबैभन्दा सुरक्षाघेराभित्र सुरक्षित रहँदै आएका छन्। हो, अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो।

सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा उनले यसै भने। उनको यस्तो अभिव्यक्ति आइरहँदा उनका अघिपछि आधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मी तैनाथ थिए। त्यस्तै, कार्यक्रम स्थलमा समेत बाक्लै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

त्यसो त प्रधानमन्त्री पुग्ने पार्टी वा गुटकै भेला किन नहोस्, नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत लगेर अनिवार्य ट्रेसिङ गरिएको हुन्छ। त्यसपछि सुरक्षाकर्मीले त्यहाँ पुगेर कार्यक्रमस्थललाई सुरक्षा दिन्छन्। प्रधानमन्त्री सवार हुँदा अगुवा पछुवाको त हुने नै भए। नेपाल प्रहरी र नेपाली सेनाबाट अङ्गरक्षक समेत खटाइएको हुन्छ प्रधानमन्त्रीका लागि।

अब प्रश्न उठ्छ यतिका सुरक्षा घेरा लिएर हिँडेका प्रधानमन्त्रीलाई आखिर केको सुरक्षा थ्रेट? ज्यानै तलमाथि हुने गरी कसले हमला गर्ला? अनि कस्तो किसिमको हमला भन्न खोजेको हो? कार्यक्रममा सहभागी हुँदा भिडमा रहेका विरोधीले नै जुत्ता वा अन्य प्रहार गर्छन् भन्न खोजिएको हो? वा कुनै सांघतिक हमला नै हो?

प्रधानमन्त्रीले औपचारिक रुपमा नै सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिइसकेपछि सुरक्षा निकाय के हेरेर बसेको छ त?

गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७७ अनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ। गत मङ्सिरमा सुरक्षा निर्देशिका २०७० लाई संशोधन गरेर २०७७ बनाइएको हो। प्रधानमन्त्रीको सुरक्षा अति विशिष्ट सुरक्षा अन्तर्गत पर्छ।

नेपाली सेनाले प्रधानमन्त्री ओलीको सुरक्षाको कमान्ड लिएको हुन्छ। गृह मन्त्रालयको सुरक्षा योजना अनुसार राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्म मात्र ८ सय भन्दा बढी सेना खटिएका छन्। प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री सुरक्षासम्म नेपाली सेनाबाट मात्र १ सय ७५ जना सुरक्षाकर्मी खटिएका छन्।

'हामीले निर्देशिका अनुसार नै सुरक्षा व्यवस्था मिलाएका छौँ। प्रधानमन्त्रीको पनि त्यही अनुसार सुरक्षा मिलाइएको छ। निवासदेखि कार्यक्रममा जाँदा समेत सेनाको सुरक्षा हुन्छ, ' नेपाली सेनाका प्रवक्ता प्रवक्ता सन्तोष वल्लभ पौडेले भने। 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अहिले पार्टीभित्रकै घेराबन्दीमा छन्। पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह अलगिएको छ। उनीहरू आधिकारी पार्टी आफ्नो भन्ने तर्क गरिरहेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ। उनीमाथि नैतिक रुपमा राजीनामाको दवाव पनि छ।

त्यही राजनीतिक दवावकै आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएको विश्लेषण छ सुरक्षा निकायका उच्च अधिकारीको। सुरक्षा निकायका अधिकारीहरु प्रधानमन्त्री ओलीले भनेको झैँ सुरक्षा थ्रेट नभएको तर्क गर्छन्। नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, 'अहिलेसम्म कुनै पनि सुरक्षा थ्रेट देखेका छैनौं। यो भनाइ चाहिँ राजनीति गरमाएकाले नै आएको होला।'

नेपाल प्रहरीले प्रधानमन्त्रीको सुरक्षाको लागि डीएसपीको नेतृत्वमा ८० भन्दा धेरै सुरक्षाकर्मी खटाएको छ। उनीहरू प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री जाने सबै कार्यक्रमसम्म खटिएका हुन्छन्। प्रधानमन्त्री निवासमा चौबिसै घण्टा सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ।

प्रहरीको सुरक्षा निर्देशनालयले प्रधानमन्त्री लगायत अति विशिष्ट, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने गर्छ। यसमा प्रधानमन्त्री कुनै कार्यक्रमको सिलसिलामा कुनै जिल्ला वा काठमाडौं उपत्यकाको कुनै ठाउँमा पुग्दा त्यहाँ प्रहरी वृत्त वा जिल्लामा इलाकाबाट खटिने थप सुरक्षाकर्मी अलग्गै परिचालन हुन्छन्।

के प्रधानमन्त्री केपी शर्मा ओलीलाई साच्चै सुरक्षा थ्रेट नै भएको हो? प्रतिक्रिया लिन खोज्दा नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बोल्न चाहेनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा निरन्तर खटिनेमा सशस्त्र प्रहरी पनि हो। निवासदेखि प्रधानमन्त्री सुरक्षासम्म सशस्त्र प्रहरीबाट ३५ जना सुरक्षाकर्मी खटिएका छन्। उनीहरू स्कटिङदेखि अन्य किसिमका सुरक्षामा देखिन्छन्।

सशस्त्र प्रहरीका प्रवक्ता आफूलाई प्रधानमन्त्रीको अभिव्यक्ति कुनै जानकारी नभएको बताए। 'हामीले निर्देशिका अनुसार नै सुरक्षाकर्मी परिचालन गरेका हुन्छौं। प्रधानमन्त्रीको पनि त्यही अनुसार रहेको छ,' सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालले भने।

त्यसो त राष्ट्रिय अनुसन्धान विभागबाट पनि १० जना भन्दा बढी सुरक्षाकर्मी प्रधानमन्त्रीको सुरक्षाको लागि खटिएका हुन्छन्। यतिका संख्यामा सुरक्षाकर्मी खटिँदा पनि प्रधानमन्त्रीले सुरक्षा थ्रेट महसुस गर्नु आफ्नै सुरक्षा प्रणालीमाथिको अविश्वास भएको सुरक्षाविद्हरु बताउँछन्।

'यो हाँस्यास्पद कुरा हो। उहाँलाई सुरक्षा थ्रेट छ जस्तो मलाइ लाग्दैन। यो राजनीति कारण आएको भनाइ हो। कार्यकर्ताबाट सहानुभूति पाउन खोजेको हो। प्रधानमन्त्रीको सस्तो टिप्पणी,' सुरक्षाविद् गेजा शर्मा वाग्लेले भने।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढालाई यस विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा नै आएनन्। सह प्रवक्ता प्रेमलाल लामिछानेले भने यस विषयमा आफूलाई कुनै पनि जानकारी नआएकाले प्रवक्तासँग नै सोध्नु भन्दै तर्किए।

सत्तारुढ दल दुई गुटमा विभाजन भएपछि एक नेताले अर्को नेतालाई गालीगलौच र एउटाले अर्काको गल्ती औल्याउनु सामान्य झैँ भइरहेको छ यतिखेर। प्रधानमन्त्रीले नै आफू असुरक्षित भएको भन्दै सार्वजनिक कार्यक्रममा नै बोल्दै हिँड्नुले आम मानिसले के बुझ्ने? यतिको सुरक्षा घेरामा रहेका प्रधानमन्त्री ओली नै असुरक्षित छन् भने सर्वासाधारणले आफूलाई सुरक्षित ठान्ने कसरी?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell