PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अपहरणको अर्थशास्त्र, फिरौतीदेखि हत्यासम्म : आफन्तबाटै आफन्त जोखिममा



सविन ढकाल

अपहरणको अर्थशास्त्र, फिरौतीदेखि हत्यासम्म : आफन्तबाटै आफन्त जोखिममा

काठमाडौँ : ‘तिम्रो छोरालाई हामीले अपहरण गरेका छौँ। छोरा चाहिए एक करोड रुपैयाँ लिएर आऊ।'

गत अघिल्लो शनिवार धनुषाको नगराइन नगरपालिका–६ बस्ने रमेश दासको परिवारमा कुनै अपरिचित व्यक्तिले फोनबाट यसै भने। शनिवार दिउँसो देखि नै रमेशको सात वर्षीय छोरा घरबाट बेपत्ता थिए। त्यसैले पनि उनीहरू नआत्तिने कुरै भएन। दास परिवारका एक करोड रुपैयाँ जुटाइहाल्ने अवस्था थिएन।

त्यसपछि उनीहरूको एउटै भरोसा बन्यो प्रहरी। उनीहरूले तत्कालै प्रहरीलाई खबर गरे। बालक अपहरण र फिरौती भनेपछि प्रहरीले पननि सक्रियता देखाइहाल्यो। २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अपरेसन सुरु गर्‍यो। प्रहरीका लागि अपराधी अपहरित बालक खोज्ने पहिलो 'क्लु' त्यही मोबाइल कल थियो।

प्रहरीले ट्र्याक गर्दा मोबाइलको लोकेसन - जनकपुरको माछा बजार देखियो। त्यसैलाई आधार बनाएर पिछा गर्दै प्रहरीले अपरेसन सुरु गर्‍यो। दुई घण्टाको अवधिमा प्रहरीले बालकलाई उद्धार गर्न पनि सक्यो। प्रहरीले अपहरणको अभियोगमा एकजना युवकलाई नियन्त्रणमा लियो।

पक्राउ पर्नेमा थिए पिपरा गाउँपालिका वडा नम्बर ७ दनौलीका २० वर्षीय लक्ष्मेश्वर। लक्ष्मेश्वर अरू कोही होइनन् अपहरित बालककै मामा रहेछन्। मामाले नै भान्जालाई अपहरण गरेको प्रहरीको अनुसन्धानमा देखियो।

‘अपहरणकारीको फोनको लोकेसन जनकपुरको माछा बजार देखाइरहेको थियो। फोन लोकेसनकै आधारमा चन्दनका मामा लक्ष्मेश्वरलाई डेरा गरी बस्ने जनकपुर उपमहानगरपालिका ७ स्थित कटैया चौरीबाट नियन्त्रणमा लियौँ,' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले भने।

आफन्तबाटै अपरणको यो पछिल्लो घटना हो। पछिल्लो समय भएका धेरैजसो अपहरणमा आफन्त र चिनजानको मानिसकै संलग्नता भेटिन थालेको छ। अपहरण मात्र होइन, बलात्कारका घटनामा पनि आफन्त वा चिनजानका मानिस नै समातिन थालेका छन्। आफन्त नै अपराधसँग जोडिएका यस्ता घटनामा सिकार चाहिँ बालबालिका नै हुने गरेको पाइन्छ।

गएको सात महिनामा ३५ वटा जिल्लामा अपहरणको घटना भएको छ। देशभर अपहरणको केसमा ७९ वटा प्रहरीमा उजुरी दर्ता भएको देखिएको छ। सुनसरीमा मात्र ६ वटा मुद्दा छन्। कैलालीदेखि झापासम्म अपहरणका घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

सात महिना : ६७ जनाको अपहरण

गएको सात महिनामा मात्र ६७ वटा अपहरणका घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यसरी अपहरणमा पर्नेमा सबैभन्दा धेरै बालबालिका नै देखिएका छन्। ९ जना बालक र ३१ जना बालिका अपहरणमा परे। अपहरणपछि ३ जना बालबालिकाको हत्या समेत भएको छ। जसमा दुई जना पुरुष रहेका छन्। अपहरणकारी नजिकैको आफन्त वा चिनजानको हुने र पोल खुल्ने डरका कारण फिरौती लिएपछि वा लिनुभन्दा अगाडि नै हत्या गर्ने गरेको पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

त्यसो त अपहरणमा परेका मानिसको उद्धार समेत हुने गरेको छ। प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले दिएको जानकारी अनुसार सात महिनामा १३ जना पुरुष, १२ जना महिला, ५ जना बालक र २१ जना बालिकाको उद्धार गरिएको छ।

प्रहरीले अपहरणमा संलग्न मानिसलाई समेत पक्राउ गर्न सफल भएको देखिएको छ। साउनदेखि पुस महिनासम्म ६६ जना यसैगरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना विदेशी नागरिक समेत रहेका छन्। ६ जना महिलाको पनि अपहरणमा संलग्नता देखिएको छ।

अघिल्ला वर्षमा पनि उस्तै…

गएको सात महिनामा मात्र होइन। अघिल्ला वर्षहरूमा पनि अपहरणको घटना उस्तै प्रकृतिका देखिएको छ। गत आर्थिक वर्ष अर्थात् २०७६/७७ मा ९९ वटा मुद्दा अपहरण सम्बन्धी दर्ता गरिएको छ। महोत्तरीमा मात्र १० वटा अपहरणका मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। अपहरण हुनेमा २२ जना पुरुष, १९ जना महिला, १२ जना बालक र ४३ जना बालिका रहेका छन्।

अपहरणपछि २ पुरुष, १ महिला र १ बालिकाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। त्यस वर्ष अपहरणमा संलग्न १ सय २९ जनालाई पक्राउ गरिएको छ। अपहरण तथा हत्यामा २ जना विरुद्ध मुद्दा चलाइएको छ। बाँकीलाई भने अपहरण वा शरीर बन्धकमा मुद्दा चलाइएको देखिन्छ। ५ जना विदेशी समेत पक्राउ परेका रहेका छन्। अपराधमा ११ जना महिला समेत जोडिएका छन्।

'पछिल्लो घटनाहरू घरभित्रै भएको देखिएको छ। प्रहरीको उपस्थिति र सक्रियताले मात्र अपराध घट्ने देखिँदैन। सामाजिक जनचेतना पनि आवश्यक देखिएको छ,' डीआइजी उत्तमराज सुवेदीले भने।

आर्थिक वर्ष २०७५/७६ अपहरणको ग्राफ माथि नै थियो। त्यस वर्ष १ सय ३९ वटा मुद्दा दर्ता भएको देखिन्छ। त्यस समयमा ३३ जना पुरुष अपहरणमा परे। तीमध्ये २९ जनाको उद्धार भएको देखिएको छ। ६ जना पुरुषको हत्या भएको छ। बारामा मात्र तीन जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, ४२ जना महिला, २१ जना बालक र ५८ जना बालिकाको अपहरण भएको छ। तीन बालक, एक बालिका र एक महिला अपहरणपछि मारिएका छन्।

त्यसो त अपहरणको सङ्ख्या बढेसँगै अपहरणमा संलग्न मानिस पक्राउको सङ्ख्या पनि उतिकै देखिएको छ। यो अवधिमा २ सय २ जना अभियुक्तलाई प्रहरीले समात्न सफल भएको छ।

अपहरणको कारण फिरौती

महोत्तरीको पिपरा गाउँपालिका-५ स्थित सोहडवाबाट गत सोमबार मध्यरातदेखि झा दम्पती घरबाट नै बेपत्ता भए। ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गीता देवीको अपहरण भएको प्रहरीले आशङ्का गरेको छ। तर, अहिलेसम्म त्यो शंकालाई पुष्टि गर्ने कुनै 'क्लु' फेला परेको छैन। अपहरणको आशङ्का भए पनि कुनै फिरौती रकम वा कुनै माग गरेको फोन अहिलेसम्म आएको छैन।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआइजी धीरजप्रताव सिंहले केही मानिसलाई लिएर अनुसन्धान भइरहे पनि घटनाको बारेमा अहिले धेरै कुरा नखुलेको बताए।

धेरै जसो यस्ता अपहरणका घटना आर्थिक पाटोसँग जोडिएका छन्। केही घटना मात्र रिसिइबी र अन्य कारणबाट प्रेरित भएर हुने गरेको पाइएको छ। झा दम्पतीको घटनाको अनुसन्धान जारी रहेकाले अहिले नै केही भन्न नसकिने डीआइजी सिंह बताउँछन्।

तर, अधिकांश अपहरणको घटना फिरौतीका लागि नै हुने गरेको देखिन्छ। प्रहरीले अपहरणको घटनामा कारण आर्थिक, रिसइबी र अन्य भनेर खुलाउने गरेको छ। गएको सात महिनामा भएका अपहरणमध्ये आर्थिक कारण (फिरौती) २४ वटा छन्, ८ वटा घटनामा रिसइबी जोडिएको पाइन्छ। ४० वटा अपहरणका केस भने अन्य विविध कारण रहेको पाइन्छ।

आर्थिक वर्ष २०७६/७७ मा पनि २९ वटा घटना आर्थिक कारणले अपहरण भएको देखिएको छ। १४ वटा रिसइबी र ५१ वटा भने अन्य विविध कारण खुलेको छ। आर्थिक वर्ष २०७५/७६ मा ४२ वटा घटना आर्थिक पाटोबाट प्रभावित भएको थियो। त्यसैगरी २२ वटा रिसइबी र ७६ वटा अन्य विविध कारण देखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell