PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

चीनले सहयोग दिने कोभिड-१९ भ्याक्सिन कुन हो, कति छ प्रभावकारी?



पहिलोपोस्ट

चीनले सहयोग दिने कोभिड-१९ भ्याक्सिन कुन हो, कति छ प्रभावकारी?
फाइल फोटो

काठमाडौं : कोभिड-१९ विरुद्धको लडाईमा सहयोगलाई बढाउँदै चीनले ८ लाख डोज कोभिड-१९ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने भएको छ।

यसअघि फेब्रुअरी ५ मा चिनियाँ विदेश मन्त्री स्टेट काउन्सिलर वाङ यीले नेपाललाई पाँच लाख डोज भ्याक्सिन सहयोग गर्ने घोषणा गरेका थिए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा उनले यस्तो घोषणा गरेका थिए।

आइतवार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न चीन सरकारले भ्याक्सिन सहयोगलाई बृद्धि गरेको जानकारी दिएकी हुन्। चीनले पहिले घोषणा गरेको पाँच लाखमा तीन लाग बढाउँदै ८ लाख डोज भ्याक्सिन सहयोग उपलब्ध गराउने जानकारी गराएकी हुन्। 

चीनले अहिले विश्वब्यापी भ्याक्सिनको उपलब्धताको ग्यारेन्टी गर्नका लागि कम विकसित देशहरुलाई प्राथमिकतामा राखेको जानकारी गराएको छ। 

चीनले यसअघि कोभ्याक्स अन्तर्गत विकासशील राष्ट्रका लागि एक करोड डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरिसकेको छ।

चीनले कोभिड-१९ विरुद्धको भ्याक्सिनलाई 'ग्लोबल गुड' (विश्वको साझा सम्पत्ति)को रुपमा व्याख्या गर्दै आएको छ। भ्याक्सिन उपलब्ध हुनासाथ चीनले विश्वलाई समानुपातिक रुपमा उपलब्ध गराउने बताउँदै आएको छ। 

चिनियाँ विदेश मन्त्रालयले फेब्रुअरीको सुरुमै नेपालसहित ब्रुनाई, फिलिपिन्स लगायतका १३ विकासशील देशहरुलाई भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको थियो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले चीनले थप ३८ देशहरुलाई पनि भ्याक्सिन सहयोग उपलब्ध गराउने र डब्लूएचओको कोभ्याक्स अभियानका लागि पनि खोप सहयोग गर्ने बताउँदै आएको छ।

यसबिच चीनले उपलब्ध गराएको कोभिड-१९ विरुद्धको पहिलो चरणको भ्याक्सिन पाकिस्तान पुगिसकेको छ।

चिनियाँ भ्याक्सिन उत्पादक सिनोफार्मा र सिनोभ्याक्सले विकास गरेका भ्याक्सिन हाल युएई, मोरक्को, इन्डोनेसिया, टर्की, ब्राजिल, चिली लगायतका देशमा क्लिनकल ट्रायल जारी छ।

मार्च १ डब्लूएचओको अध्यावधिक सूची अनुसार १५ भ्याक्सिनले मूल्यांकनको प्रक्रियामा रहेको उल्लेख छ। जसमध्ये डब्लूएचओले फाइजर वायो एन टेकको भ्याक्सिनलाई प्रयोग अनुमति दिएको छ। त्यस्तै, अस्ट्राजेनेका र अक्स्फोर्ड, एसके बायो अस्ट्राजेनेका र अक्सफोर्ड तथा सेरम इन्स्टिच्यूटको कोभिसिल्डलाई प्रयोग अनुमति दिइसकेको छ।

त्यस्तै, चीनको सिनोफार्मा मातहतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस को. लिमिडेड (बीआईबीपी)ले विकास गरेको भेरोसेल प्रक्रियामै रहेको मार्च अगावै स्वीकृत हुने उल्लेख छ।

त्यस्तै, सिनोभ्याकले विकास गरेको भेरो सेल मार्च अगावै स्वीकृत हुने अपेक्षा गरिएको छ। त्यस्तै सिनोफार्मा मातहत वुहान इन्स्टिच्युट अफ वायोलोजिक प्रोडक्टस् (डब्लुआईबीपी)को भेरो सेल पनि सूचीमा समावेश छ।

नेपाल आउने भ्याक्सिन कुन हो?

डब्लूएचओको सूचीमा रहेका १५ वटा विकास भइरहेका भ्याक्सिनमध्ये ६ वटा भ्याक्सिन चीनमा विकास भएका र अन्य चाहिँ तयार भइरहेका भ्याक्सिन हुन्। नेपालमा चीनले ८ लाख डोज सहयोगको घोषणा गरेको छ।

नेपालमा हालसम्म दुई वटा भ्याक्सिनलाई मात्र आपतकालीन प्रयोगको अनुमति दिइएको छ। जसमध्ये अस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरी भारतको सेरम इन्स्टिच्युटमा उत्पादित कोभिसिल्ड पहिलो हो। जुन भ्याक्सिन नेपालमा २० लाख डोज आइसकेको छ। भने पहिलो चरणको खोप अभियान सम्पन्न हुने चरणमा छ।

त्यस्तै, अर्को भ्याक्सिन चीनमा उत्पादित भेरोसेल हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधी ब्यवस्था विभागले फेब्रुअरी १६ को विभागीय निर्णयबाट भेरोसेललाई आपतकालीन प्रयोजनका लागि अनुमति दिएको हो।

सिनोफार्म मातहत रहेर बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस को. लिमिडेड (बीआईबीपी)ले विकास गरेको सार्स सीओभी-२ भ्याक्सिन (भेरो सेल) इनएक्टिभेटेड भ्याक्सिनलाई प्रयोग अनुमति दिइएको हो। 

कति प्रभावकारी छ भेरोसेल?

भेरोसेलको तेस्रो चरणको ट्रायल विभिन्न देशमा जारी छ। संयुक्त अरब इमिरेट्समा जुलाइ देखि भेरोसेलको क्लिनिकल ट्रायल सुरु भएको थियो। नेपालमा आपतकालीन प्रयोग अनुमति पाएको सिनोफार्मा अन्तर्गतको बीआईबीपीले विकास गरेको भेरोसेलको तेस्रो ट्रायलमा ८६ प्रतिशत प्रभावकारी भएको अन्तरिम विश्लेषणले देखाएको युएईको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

यो भ्याक्सिनलाई पहिलोपटक सेप्टेम्बरमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो। युएईले भ्याक्सिन एन्टिबडीलाई न्युट्रलाइज गर्ने सेरोकन्भर्जन दर ९९ प्रतिशत र कोभिड-१९ को गम्भीरतालाई रोकथाम गर्न शत प्रतिशत प्रभावकारी रहेको जनाएको छ। त्यतिमात्र होइन, यसको प्रयोगमा कुनै गम्भीर स्वास्थ्य सुरक्षा जोखिम नरहेको समेत जनाएको छ।

युएईमा भएको क्लिनिकल ट्रायलयमा १२५ देशका ३१ हजार जना सहभागी भएका थिए। त्यस्तै, यो भ्याक्सिनको ट्रायल इजिप्ट, जोडर्न र बहराइनमा पनि जारी छ।  मोरक्को र पेरुमा २०२० को अगस्टबाट क्लिनकल ट्रायल सुरु भएको थियो। सेप्टेम्बर १४ मा युएईले आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको थियो।

नोभेम्बरमा आइपुग्दा सिनोफार्मले १० लाख चिनियाँले भ्याक्सिन लिइसकेको घोषणा गरेको थियो। नोभेम्बर ३ मा दुबईका शासक शेख मोहम्म विन रसिद अल मक्तोमले भ्याक्सिन लिएको घोषणा गरेका थिए। 

डिसेम्बर ९ मा युएईले भ्याक्सिनलाई पूर्ण अनुमति दिएको थियो। त्यस्तै डिसेम्बर १३ मा बहराइनले पनि यसलाई अनुमति प्रदान गरेको थियो। डिसेम्बर ३० मा सिनोफार्मले भ्याक्सिन ७९.३४ प्रतिशत प्रभावकारी रहेको घोषणा गरेको थियो भने जनवरी ३ मा इजिप्टले पनि यसको आपतकालीन प्रयोगलाई अनुमति दिएको थियो।

त्यस्तै सिनो फार्मले पनि अपेक्षा गरिएको भन्दा बढी प्रभावकारी देखिएको दाबी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell