PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विप्लवसँग वार्ताका लागि सरकारले गर्‍यो वार्ताटोली गठन



पहिलोपोस्ट

विप्लवसँग वार्ताका लागि सरकारले गर्‍यो वार्ताटोली गठन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग संवादका लागि वार्ता टोली गठन गरेको छ।

गृह मन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार डाक्टर राजन भट्टराईलाई वार्ताका लागि जिम्मेवारी दिइएको हो।

भूमिगत रहँदै आएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भन्दै ओलीले वार्ता टोली गठन अगाडि बढाएका थिए।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले वार्ता टोली गठन भएको पहिलोपोस्टलाई बताए। विभिन्न चरणमा विप्लवसँग कुराकानीपछि वार्ता टोलीको गठनको तयारी थालिएको थियो।

सोमवार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वार्ताका लागि ओलीले आह्वान गरेको बताएका थिए।

प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेकपामा विभाजन आएसँगै पूर्व माओवादीलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका छन्। त्यही रणनीति अनुरुप आफैले प्रतिबन्ध लगाएको विप्लव समूहसँग वार्ता हुन लागेको हो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टाढिएका माओवादीलाई ओलीले आफ्नो समूहमा ल्याउन गृहकार्य गरिरहेका हुन्।

आजैबाट वार्ता सुरु हुने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार विप्लव समूहलाई वार्ताका लागि खबर गरिसकिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले आज विज्ञप्ति जारी गर्दै बादलको नेतृत्वमा वार्ता समिति गठन भएको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell