PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली झापामा, गृह जिल्लामा बढ्यो दौडधुप



पहिलोपोस्ट

दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली झापामा, गृह जिल्लामा बढ्यो दौडधुप
फाइल तस्विर : रासस

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप ह्वात्तै बढेको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शारीरिक रुपमा कमजोर रहेको भन्दै महिनौंसम्म मन्त्रिपरिषदको कार्यालय सिंहदरबारसमेत नगएका ओली पुस ५ पछि एकाएक सक्रिय भएका हुन्।

संगठन विस्तार, भेला, आमसभामा र देश दौडाहमा उनको कुदाकुद जारी छ। यसबिच उनले मिलेसम्म देशका कुनै पनि कुनाको सभा छुटाएनन्। दुई महिनापछि सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भए पछि त झन् उनी चुनावी शैलीका कार्यक्रममा सक्रिय सहभागिता जनाइरहेका छन्। 

पछिल्लो समय ओलीले आफ्नो गृह जिल्ला झापामा पनि दौडधुप बढाएका छन्। एक दिनको अन्तरमा फेरि झापा पुगेका छन् ओली। फागुन १६ गते आइतवार मात्रै झापा पुगेर दमकमा निर्माण हुने चीन–नेपाल औद्योगिक पार्कको शिलान्यास गरेर फर्किएका ओली आज मंगलवार फेरि उतै पुगे। सोमवार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू असुरक्षित रहेको अभिव्यक्ति दिएका ओली आज बिहान झापामा अवतरण गरेका हुन्।

भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गरेका थिए।

ओली विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निजी अस्पताल उद्घाटन गर्न एक दिनको अन्तरालमा झापा पुगेका हुन्। प्रसाईंले ६ सय करोडको लगानीमा बिर्तामोडमा ३ सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना गरेका छन्।

अहिले प्रसाईकै बी एण्ड सी मेडिकल कलेजलाई प्रधानमन्त्री ओलीको निर्देशनमा सम्बन्धन दिने तयारी भइरहेको पनि सार्वजनिक भइसकेको छ। चिकित्सा शिक्षा अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीसहितका अभियन्ताले सम्बन्धन नदिन दबाब दिइरहेका बेला ओलीले प्रसाईंकै नयाँ अस्पताल उद्घाटन गर्न काठमाडौंबाट झापा पुगेका हुन्।

झापा पुगेका ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को पनि उद्घाटन गर्ने कार्यक्रम छ। बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन्।

बिर्तामोडको कार्यक्रमपछि उनी मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन्। दमक केन्द्रित कार्यक्रममा सहभागी हुन झापा आएको नेकपा ओली समूहले जनाएको छ।

१६ गते गृह जिल्ला पुगेका ओलीले त्यहाँ बन्नसक्ने सबै पुलहरुको एकमुष्ठ शिलान्याश गरेर नयाँ रेकर्ड नै राखेका छन्। यतिखेर उनी कसरी हुन्छ आन्दोलनमा उत्रिरहेका पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई कमजोर देखाउने र आफूले मुलुकको तीब्र विकास गरिरहेको संदेश दिने रणनीतिअनुसार चलिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell