PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसारकै चलन विपरीत ओली सत्तामा बसिरहेको नेपालको आरोप, एमसीसीमा सकारात्मक



पहिलोपोस्ट

संसारकै चलन विपरीत ओली सत्तामा बसिरहेको नेपालको आरोप, एमसीसीमा सकारात्मक

विराटनगर : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले संसारभरिकै प्रचलनविपरीत केपी ओली अनैतिक तवरले प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको आरोप लगाएका छन्।

विराटनगरमा स्थानीय संवाददातासित नेता नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि पनि ओलीले राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

नेपालले निर्वाचन आयोगले पार्टीका ४ सय ४१ केन्द्रीय सदस्यलाई मान्यता दिइसकेको उल्लेख गर्दै यसको बहुमतलाई पनि स्वीकार गर्ने विश्वास व्यक्त गरे।

‘लोकतन्त्रमा बहुमतलाई संसारले प्रिभिलेज दिएको छ’, उनको भनाइ छ, ‘संसद् होस् वा पार्टी जहाँ पनि बहुमतकै प्रिभिलेज हुन्छ।’

उनले आफ्नो पार्टीमा पनि कुनै व्यक्ति सर्वोच्च हुन नसक्ने र बहुमतको निर्णय अल्पमतको निर्णय मान्नुपर्ने वैधानिक प्रावधान रहेको दाबी गरे।

नेपालको व्यङ्ग्य थियो, ‘विशाल पार्टीका रूपमा हामी गतिशील छन्। हाम्रा बैठक बसेका बस्यै छन्। एउटा सानो चोइटो बालुवाटार वरिपरि घुमिरहेको छ।’

उनले पार्टीका दुई तिहाई सदस्य आफूतिर भएको दाबी गर्दै निर्वाचन आयोगप्रति आफूले कुनै टिप्पणी नगर्ने धारणा प्रकट गरे।

नेपालले पुस ५ मा प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको उल्लेख गरे। उनले यस बारेमा संसद सचिवालयले नबोलेसम्म आफ्नो धारणा नआउने स्पष्ट पारे।

उनले नेपाली काङ्ग्रेस र समाजवादी पार्टीसहित प्रतिगमनविरोधी शक्ति मिलेर आगामी सत्ता समीकरण टुङ्ग्याइने जानकारी दिए।
नेपालले घुमाउरो पारामा एमसीसीको समर्थन गरे।

उनको कथन थियो, ‘हामी कुनै पनि कुरालाई नकारात्मक रूपमा लिदैनौँ। एमसीसी वा अन्य जुन विषयमा पनि सकारात्मक ढङ्गले छलफल चलाएर निष्कर्षमा पुग्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell