कैलाली : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। संविधान संशोधनलगायत आफ्ना मागहरू सम्बोधन नभएसम्म सरकारमा जाने विषयमा आफूहरू नरहेको उनले स्पष्ट पारेका हुन्।
जसपाले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपाको आन्तरिक विवाद कायमै रहेकाले कुनै अमुक समूहसँग सहकार्य गरेर सरकारमा नजाने स्पष्ट पारे। प्रधानमन्त्रीको प्रतिगमनमात्रै नभएर संविधान जारी गर्दाको समयमको प्रतिगमन नसच्चिएसम्म सरकारमा नजाने उनको अडान छ।
‘केपी ओलीले ल्याएको प्रतिगमन त सच्चियो तर कांग्रेस, एमाले, माओवादी र विजय गच्छदार समेत गरी तत्कालीन चार पार्टी मिलेर ल्याएको प्रतिगमन खोइ सच्चिएको?’ उनले भने, ‘गोली चलाएर संविधान बनाएको हो, त्यसैले हाम्रा एजेन्डा, मागहरू सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौँ।’
उनले थारुहरूमाथि सरकारले नै अन्याय गरेको भन्दै अब रेशम चौधरीलाई रिहाइ नगरे जेल भराऊ आन्दोलन हुने बताए। पापको घडा भरिसकेकाले अब रेशम चौधरीलाई जेलमा राखिराख्ने तागत सरकारसँग नभएको पनि उनको दावी छ।
उनले भने, ‘अब रेशमलाई त भित्र राख्ने त क्षमता छैन, अब हामी जति छौँ जेल भराऊ अभियान शुरु गरेर हामीलाई जेलमा राख्ने ठाउँ नै हुँदैन, त्यो आन्दोलन हुन सक्छ। त्यसैले अब यो सरकारसँग रेसम चौधरीलाई धेरै लामो समयसम्म जेलमा राख्ने, कालकोठरीमा राख्ने तागत छैन।’
संविधान संशोधनका विषयमा सरकार गम्भीर नभए अब छुट्टाछुटै नभएर सबै उत्पीडित वर्गहरूले संयुक्त आन्दोलन गर्ने महतोले बताएका छन्।