PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको पक्षमा ११५ सांसद पुग्ने महेश बस्नेतको दाबी, कांग्रेस र प्रचण्ड–नेपाललाई यस्तो सुझाव



पहिलोपोस्ट

ओलीको पक्षमा ११५ सांसद पुग्ने महेश बस्नेतको दाबी, कांग्रेस र प्रचण्ड–नेपाललाई यस्तो सुझाव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले आफूहरुको पक्षमा ११५ सांसद पुग्ने दाबी गरेका छन्। अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने उनको दाबी छ।

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझाव दिए।

बुधवारबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने ठोकुवा गर्दै केही दिनभित्रै यो संख्या बढेर ११५ जना पुग्ने बस्नेताको दाबी छ। उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको टिप्पणी गरे।

नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला आएपछि ढंग पुर्‍याइएन भने फेरि राजनीतिक अस्थिरता र विकृति सुरु हुने भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको बताए। उनले भने, ‘यो कुरा क्रमशः पुष्टि हुँदैछ। कतिपय पर्दाभित्र पनि देखिएको छ। आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन्।’

बस्नेतले अहिले दाहाल–नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गरे। उनले दाहाल–नेपाल समूह पुस ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाई छ। उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे। सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्न गरे।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने सुनाए। उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुंगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समीकरण ‘बोकाको मुखमा कुभिण्डो’जस्तो भएको बस्नेतको भनाई छ। उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने भविष्यवाणी गरे। उनले भने, ‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ।’

२०५२ सालको जस्तो संसदीय विकृति र विसंगति अहिले नदोहोरिने पनि उनले स्पष्ट पारे। उनले नेकपाभन्दा बाहिर सत्ता समीकरण नपुग्ने पनि दाबी गरे। उनले भने, ‘सत्ताको खेल आज नेकपाभित्रै छ। योभन्दा बाहिर छैन।’

भदौ २६ गतेअघिको अवस्थामा फर्किने हो भने पार्टी एकता सम्भव छ भनेर गृहमन्त्रीसमेत रहेका ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले भनेको उल्लेख गर्दै उनले यदि त्यसो हो भने एकता हुने पनि सुनाए। तर, दाहाल–नेपाल समूहले लड्डु खाँदै २२ जना सांसद आफूहरुतिर आउने भनेर पालेको भ्रम तोडिसकेको पनि उनको दाबी छ।

बस्नेतले दाहाल–नेपाल समूहले सत्ता समीकरणको लागि कांग्रेसको साथ खोज्न थालेपछि नेकपाका धेरै सांसदले प्रधानमन्त्री ओलीलाई नै साथ दिने विश्वास दिलाए। उनल भने, ‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ। यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं।’

उनले प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही पनि नभएको जिकिर गरे। उनले अब ओलीका समकालिन नेतामा अन्तिम राज ओली नै गर्ने र त्यसपछि युवाहरुले हस्तक्षेप गरेर मुलुकको नेतृत्व गर्नेपनि सुनाए। अब नयाँ पुस्ता जबरजस्त ढंगले आउने उनको विश्वास छ। उनले आफ्नो पुस्ताको नेता अबको १० देखि १५ वर्षभित्र प्रधानमन्त्री बन्ने पनि दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell