PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिल्म पाइरेसी गरेको अभियोगमा युवक पक्राउ, चलचित्रकर्मीको एउटै स्वर, ‘कडा कानुन चाहियो’



लक्ष्मी बलायर

फिल्म पाइरेसी गरेको अभियोगमा युवक पक्राउ, चलचित्रकर्मीको एउटै स्वर, ‘कडा कानुन चाहियो’

काठमाडौं : महानगरीय अपराध महाशाखाको टोलीले फिल्म पाइरेसी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरी सोमवार सार्वजनिक गर्‍यो। लमजुङ बेसीसहर-२ घर भएका २५ वर्षीय सुजन परियारलाई प्रहरीले सार्वजनिक गरेको थियो।

फिल्म क्षेत्रसँग जोडिएको अपराध भएकाले नै होला यही घटनालाई मंगलवार चलचित्र विकास बोर्डले पत्रकार सम्मेलन नै गरेर घटनाको बारेमा थप जानकारी दिएको छ। ‘थ्री सिक्स्टी वान डिग्री मिडिया प्रालि’ले ‘सिनेमा घर एप’बाट वितरण गर्ने चलचित्रहरू सुजनले विभिन्न माध्यमबाट सामाजिक सञ्जालमा अपलोड गरेर पाइरेसी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रहरीले नियन्त्रणमा लिएका २५ वर्षीय सुजन परियार पेसाले शिक्षक हुन्। सिनेमा घरको माध्यमबाट वितरण गरेका कथानक चलचित्रहरू सुजनले युट्युब र सामाजिक सञ्जालमा अपलोड गरी बिक्री गरेको सिनेमा घर एपका सीईओ सागर खरेलले बताए।

खरेलले भने, ‘नेपाली सिनेमाको डिजिटल बजारलाई पाइरेसीले निकै असर पारेको छ। इन्टरनेटको दुरुपयोग भइरहेको छ। पाइरेसी नहोस् भनेर एप बनाउँदा निकै सुरक्षा र प्रविधि अपनाएका थियौँ। तर, एपबाट फिल्महरू बाहिरिने क्रम जारी छ।’

त्यस्तै, उनले टिभीमा आएका चलचित्रहरूलाई खिचेर समेत विभिन्न माध्यममा अपलोड गर्ने क्रम बढेको समेत बताए। पाइरेसीको विषयमा सरकारले कडा कानुन बनाएर लागू गर्नु पर्ने खरेलको सुझाव थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि २०५९ मा बनाएको प्रतिलिपि अधिकार ऐन समय अनुसार संशोधन हुन नसक्दा पनि पाइरेसीको समस्या देखिएको तर्क गरेका थिए।

अध्यक्ष दाहालले भने, ‘पाइरेसी निकै ठूलो अपराध हो। पाइरेसीको विषयमा बोर्डको तर्फबाट प्रतिनिधि सभामा संशोधन प्रस्ताव दर्ता गरेको छु। ताकी कसैको फिल्म र सिर्जनाको पाइरेसी नहोस्।’

पाइरेसी गर्नु अपराध हो भन्ने थाहा नहुँदा पनि पाइरेसी हुने गरेको दाहालको तर्क थियो। त्यसैले पाइरेसी सम्बन्धी सूचनामूलक र अपराध हो भन्ने विषयमा जनचेतना फैलाउने कार्यक्रम बनाएर प्रसारण गर्ने समेत बताए।

कलाकार तथा निर्देशक खगेन्द्र लामिछानेले पाइरेसी हुँदा निर्माता तथा सर्जकलाई पाकेको बाली बाढीले बगाएको क्षण जतिकै हुने भन्दै यसलाई रोक्नु पर्ने बताए। लामिछानेले आफ्नो फिल्म ‘पशुपति प्रसाद’ पाइरेसी हुँदा चलचित्रबाट सोचे अनुसारको कमाइ गर्न नसकेको दुखेसो समेत पोखेका थिए।

प्रहरी हिरासतमा रहेका सुजनविरुद्ध जिल्ला अदालत काठमाडौंबाट प्रतिलिपि अधिकार ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell