PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्थानीय सरकारको 'कृषि क्रान्ति' : शिवरात्रिको मेलाका लागि किसानको गहुँ बालीमा डोजर, लागतको एक तिहाइ क्षतिपूर्ति



राधेश्याम पटेल

स्थानीय सरकारको 'कृषि क्रान्ति' : शिवरात्रिको मेलाका लागि किसानको गहुँ बालीमा डोजर, लागतको एक तिहाइ क्षतिपूर्ति

वीरगंजः पति-पत्नी शक्तिशाली पदमा विराजमान भएपछि कसको के लाग्छ भन्ने उदाहरण पछिल्लो समय रौतहटको मौलापुरमा देखिएको छ। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ओली समूहका नेता तथा शहरी विकास मन्त्री प्रभु साह र पत्नी एवं मौलापुर नगरपालिकाकी मेयर रीनादेवी साहको दादागिरीको कारण मौलापुरका किसानको करिब ३ बिघामा लगाइएको गुह बाली नष्ट भएको छ।

महाशिवरात्रिको अवसरमा लगाइने मेलाका लागि किसानको करिब तीन बिघा गहुँ बालीमा मंगलबार डोजर चलाइएको हो। मेला स्थल निर्माणका लागि भन्दै किसानको खेतमा डोजर चलाइएको हो। मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र भोजपुरी चलचित्रका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने तयारी छ। यसका लागि नगरपालिका मेला स्थल निर्माणमा जुटेको हो।

मन्त्रीको निर्देशनमा मेयर रीनादेवीले डोजर लगाएको आरोप किसानहरूको छ।

‘पहिले अन्तै मेला लगाउने भनिएको थियो, जसले गर्दा अहिलेको खेतमा बाली लगायौँ। पछि मेला बाली लगाइएको ठाउँमै ठूलो क्षेत्रफलमा लगाइन्छ भनियो,’ पीडित किसान कृष्ण साहले भने, ‘डोजर चलाएर बाली बर्बाद पारिएको छ। खेतमा डोजर चलेको देख्दा शरीरमा डोजर चलेको महसुस गरेका छौँ।’

खाली छोडिएको खेत बाँझो रहेको र भएको बालीमा पनि डोजर चलाएर किसानमाथि अन्याय गरेको उनीहरूको गुनासो छ।

साहले पहिले मेला लगाउने भनिएको ठाउँमा करिब सात कट्ठा जग्गा पर्ती नै राखेको बताए। चार कट्ठा खेतमा बाली लगाउँदा १५ हजार खर्च भएकोमा अहिले क्षतिपूर्तिको नाममा ५ हजार रुपैयाँ मात्र थमाएको पनि साहले बताए।

'बाला लागिसकेको बाली नकाट्नु, बरु पहिले जुन स्थानमा मेला आयोजन हुने भनिएको थियो त्यहीँ गएर मेला लगाउनु भनेका थियौँ,’ साहले भने, ‘उहाँहरूले मान्नु भएन।'

सुरुमा मन्त्रीले भनेको स्थानमा बाली नलगाएको किसानको भनाई छ।

'मन्त्रीजीले घरमा आएर भन्नुभएको थियो, महाशिवरात्रिमा मेला लाग्छ, उक्त स्थानमा भएका खेतहरूमा बाली नलगाउनु होला। हामीले उक्त ठाउँमा बाली लगाएनौँ। तर, जहाँ बाली लगाएनौँ, त्यहाँ मेला लगाइएन र बाली लगाएको ठाउँमा आएर मेला लगाउने भनेर हाम्रो मेहनत र पैसा दुवै डुबाइदिए’ एक पीडित किसानले भनिन्।

मौलापुर नगरपालिकाकी मेयर रीनादेवीले क्षतिपूर्ति दिने सर्तमा डोजर चलाइएको बताइन्।

‘बाली नष्ट भएकोमा क्षतिपूर्ति दिने भनेका छौँ, दिइरहेका पनि छौँ,’ उनले आश्वासन दिँदै भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell