PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ताप्लेजुङ अग्नी पीडितलाई आवासका लागि भूकम्प पीडितसरहको मापदण्डको रकम उपलब्ध गराइने



पहिलोपोस्ट

ताप्लेजुङ अग्नी पीडितलाई आवासका लागि भूकम्प पीडितसरहको मापदण्डको रकम उपलब्ध गराइने

काठमाडौं: ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालिन पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग सहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ।

ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए। ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नीपीडतको दिर्घकालिन पुनःस्थापनाको लागि भूकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो।

त्यसैगरी ज्ञापन पत्र बुझाउँदै आगलागीका कारण आवासविहिन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरुमा आगलागी बाट हुने जोखिम र क्षति न्युनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितको लागि पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्दारको काम शुरु भइसकेको बताए। सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने उनको भनाई छ। आवासको निम्ति भूकम्प पीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए।

तत्कालीन राहतको रुपमा गृह मन्त्रालयले प्रति परिवार १५ हजार रुपैँयाको दरले पठाइसकिएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैया उपलब्ध गराउने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell