काठमाडौंः लामो समयदेखि पदाधिकारीविहीन रहेको राष्ट्रिय महिला आयोगले नयाँ पदाधिकारी नियुक्तीसँगै पीडित पुनर्स्थापना कार्यक्रम अघि सार्ने भएको छ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोगका गतिविधिबारे जानकारी दिन आयोजित कार्यक्रममा आयोगकी नवनियुक्त अध्यक्ष कमला पराजुलीले केन्द्रबाट मात्रै हेर्न संभव नहुने भएकाले स्थानीय तहसम्मै आयोगको पहुँच पुर्याउने गरी तयारी गरेको जानकरी दिइन्।
महिलाहरुमाथि हुने हिंसाका तह र प्रकार बिबिध भएकाले सबै किसिमका हिंसाप्रति शून्य सहनशिलताको नीति अपनाउँदै आयोगले पीडित महिलाहरुलाई न्यायका लागि सहयोग गर्नुका साथै पुनर्स्थापनाका तथा आर्थिक सबलीकरणका लागि समेत काम गर्ने बताइन्।
पीडित परिवारलाई माया, सम्मान र सहयोग गर्ने र पीडकलाई कानुनी दायराभित्र ल्याएर सजाय दिलाउने काममा आयोग प्रतिबद्ध रहेको भन्दै पराजुलीले विद्यालयस्तरबाटै बालबालिकालाई लैंगिक हिंसाबारे ज्ञान दिनुपर्ने बताइन्। उनले विद्यालयका पाठ्यक्रममै हिंसा र दुर्ब्यवहार अन्त्यका लागि आवश्यक शिक्षा दिने विषयहरु समावेश गर्न आयोगले पहल थाल्ने पनि जानकारी दिइन्।
हरेक विद्यालयमा मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गर्नुपर्ने उनको भनाई छ।
अध्यक्ष पराजुलीका अनुसार आयोगले महिलाका सवालमा प्रभावकारी कार्यक्रम ल्याउने योजनामा काम थालिसकेको छ।
'हामी अहिले प्लानिङ फेजमा नै छौं। स्रोत साधन र अन्य धेरै कुराहरुको अभाव छ। हाम्रो आफ्नो भवन समेत छैन। तर यतिकै हात बाँधेर बस्न त हामी पनि आएका होइनौं। हिंसा पीडित महिलाहरुको आर्थिक सबलीकरणको पाटोलाई समेत ध्यानमा राखेर काम गर्नुपर्छ भनेरै हामीले खाका बनाइरहेका छौं।' उनले भनिन्।
तीन वर्षदेखि पदाधिकारी विहीन अवस्थामा रहेको आयोगमा अझै पनि दुई जना पदाधिकारी नियुक्ती हुन बाँकी नै छ।
महिलामाथि हुने कुनै पनि हिंसाको उजुरी महिला आयोगमा दिन सकिने व्यवस्था भएपनि पदाधिकारीविहीन हुँदा आयोगले गरिरहेका काम कारवाही र सक्रियता बाहिर देखिन सकेको छैन।
हाल आयोगले २४सै घण्टा निशुल्क हेल्पलाइन सेवा चलाइरहेको छ। ११४५ नम्बर डायल गरी जो सुकैले पनि जुनसुकै प्रकारका लैंगिक हिंसाको उजुरी दिन सकिने व्यवस्था छ। आयोगले पीडितहरुलाई आश्रय, मनोपरामर्श सेवा, पीडितका बालबालिकालाई सहायताका साथै कानुनी उपचारका लागि सहयोग गर्दै आएको जनाएको छ।