PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा नेतृत्वको किचलो, कर्मचारीले पाएनन् चार महिनाको पारिश्रमिक



पी बी खड्का

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा नेतृत्वको किचलो, कर्मचारीले पाएनन् चार महिनाको पारिश्रमिक

सुर्खेत : सुर्खेत उपत्यकावासीले पानीको हाहाकार खेपिरहेकै बेला सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा किचलो शुरु भएको छ। संस्थाका पदाधिकारीबीच किचलो शुरु भएको हो। गर्मीयाम शुरु भएसँगै उपत्यकामा पानीको संकट टार्ने यो बेला पदाधिकारी भने नेतृत्व हत्याउने दाउमा लागिपरेका छन्। उपत्यकावासीको धारामा भने ४८ घण्टाको अन्तरमा एक घण्टा पानी आउँछ। पदाधिकारी भने व्यक्तिगत स्वार्थमा रुमलिएका छन्।

चार वर्षे कार्यकाल सकिएपछि उपाध्यक्ष दिपे सार्की, सचिव चन्द्रबहादुर सुनार र कोषाध्यक्ष रामबहादुर गौतमले विशेष साधारण सभा बोलाउन माग गरेका छन्। उपाध्यक्ष सार्की पक्षले उपभोक्ता समितिका एक तिहाई सदस्यहरुको हस्ताक्षर सहित विशेष साधारणसभा बोलान माग गरेका छन्। तर, संस्थाका अध्यक्ष कुलमणि देवकोटा भने विवादलाई थामथुम पार्दै पद लम्ब्याउने दाउमा छन्।

संस्थाको २०७२ को निर्वाचनबाट अध्यक्षमा निर्वाचित देवकोटाको नेतृत्वको पदाधिकारीको कार्यकाल यसअघिनै सकिएको थियो। चार वर्षे कार्यकालका लागि जिम्मेवारी पाएको नेतृत्वले २०७६ असोजमा साधारण सभा बोलाएर ०७६ पौष ५ गते दश वटै स्किम समितिहरुको र पौष १९ गते मूल उपभोक्ता समितिकिो निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, तोकिएको समय घर्किसक्दा पनि नेतृत्वले साधारण सभा नबोलाएपछि किचलो शुरु भएको हो।

कोषाध्यक्ष गौतमले भने, ‘कार्यकाल सकिएको एक वर्षबढी भइसक्यो, पटक पटक विशेष साधारणसभा बेलाउन माग गर्दा पनि कुनै सुनुवाई भएको छैन।’

साधारणसभा आह्वानका लागि कुल सदस्य संख्याको एक तिहाई सदस्यको बहुमत हुनुपर्ने हुन्छ। अहिले संस्थामा एक सय ५४ सदस्य रहेका छन्। ६४ जना बढी सदस्यको हस्ताक्षर सहित सभा बोलाउन माग गरिएको कोषाध्यक्ष गौतमको दावी छ।

कर्मचारी पनि आन्दोलित

यता, कर्मचारीहरु भने संस्थाका पदाधिकारीहरुको झगडाले चार महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन्। उनीहरुले पारिश्रमिक उपलब्ध नगराएको भन्दै सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्।  कर्मचारी ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालका अनुसार तत्काल पारिश्रमिक नपाए पाँच दिन कार्यालयमा तालाबन्दी गरिने छ।

‘राजनीतिक लडाइँमा कर्मचारीलाई मर्का त पार्नुभएन नि’, उनले भने, ‘चार चार महिनासम्म घरव्यवहार कसरी चलाउने?’

कोषाध्यक्ष गौतमले चेकमा हस्ताक्षर नगरेकै कारण कर्मचारीको तलव रोकिएको उनको आरोप छ। अmभै पनि कर्मचारीले तलव नपाए कार्यालयको सम्पूर्ण सेवा र खानेपानी समेत ठप्प पार्न बाध्यकारी हुने जनाएका छन्।

कर्मचारीको पारिश्रमिकका लागि स्थानीय प्रशासन लगायत सम्बन्धित निकायलाई पटक पटक जानकारी गराइसकिएको उनले बताए।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘व्यक्तिगत स्वार्थका लागि संस्थाको बदनाम गराएको आरोप लगाएका छन्।’

आफ्नो नेतृत्वले उपत्यकावासीलाई दीर्घकालिनरुपमा पानीको समस्या समाधान गर्नतर्फ लागिरहेको उनले बताए। तर, नेतृत्वलाई असफल बनाउनेतर्फ केन्द्रित बनेकाहरुले संस्था बदनाम गराएको उनको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell