PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश नम्बर १ को बैठक सारिएकोमा काँग्रेसको आपत्ति



अनन्तराज न्यौपाने

प्रदेश नम्बर १ को बैठक सारिएकोमा काँग्रेसको आपत्ति

विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक चैत २ गतेसम्म सारिएकोमा आपत्ति जनाएको छ।

प्रदेश सभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बुधबार साँझ पत्रकार सम्मेलन बैठक सारिएकोमा रोष व्यक्त गरेका हुन्।

प्रदेश सभामा नेकपाको प्रचण्ड–माधव समूहले गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्ताव फागुन ९ गते प्रदेश सभामा टेबुल हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० सम्मका लागि बैठक स्थगित गरेका थिए। प्रदेश सभाको बैठक सुरु हुने पूर्व घोषित मितिभन्दा १ दिन अगावै सभामुख भण्डारीले चैत २ गतेसम्मलाई बैठक सारिएको निर्णय गरेका हुन्।

प्रमुख सचेतक कार्कीले सदनमार्फत् अविश्वासको प्रस्ताव फेस गर्न वा नयाँ सरकार बनाउन पहल गर्न मुख्यमन्त्री राईलाई चुनौती दिए।

‘सरकार र सभामुखको मिलेमतोमा हामीलाई सोद्धै नसोधी र हामीसित कुनै सरसल्लाह नगरी एकतर्फी रूपमा बैठक सार्ने काम गरिएको छ’, कार्कीको भनाइ छ, ‘एकतर्फी रूपमा सूचना टाँसेर बैठक सारिएको कार्यमा हामी सहमत छैनौँ। अर्को सूचना प्रकाशित गरेर बैठक तुरुन्त सुरु गरिनुपर्छ। सरकार र सभामुखसित हाम्रो यही आग्रह छ।’

उनले मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव छलेर सत्ता छलेर सत्ताको आयु लम्ब्याउन खोजेको र सभामुखले सहयोगी भूमिका निर्वाह गरिरहेको आरोप लगाए।

कार्कीको कथन थियो, ‘सकेसम्म सत्ता लम्ब्याएर लुटी ल्याऊँ भुटी खाऊँ भन्ने दाउमा सरकार छ। सभामुखले यसमा सहयोग गरिरहनु भएको छ।’

उनले प्रदेश सरकारले संसदप्रति उदासीन भई बहिष्कार गर्ने सम्मको हर्कत गरेर अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको टिप्पणी गरे।

उनले नेकपाको एक समूहले प्रदेश सभामा दर्ता गरेको अविश्वासको प्रस्ताव नेपाली काङ्ग्रेसका लागि गिफ्ट भएको हुँदा यसलाई सहर्ष स्वीकार गर्दै प्रस्तावका पक्षमा मतदान गर्ने जानकारी दिए।

प्रमुख सचेतक कार्कीले नेपाली काङ्ग्रेस नेकपा फुटेको हेर्न चाहँदैन भन्ने मत जाहेर गर्दै जनताले एकीकृत नेकपालाई ५ वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट दिएको उल्लेख गरे।

उनले भने, ‘हामी सिङ्गो नेकपाले सरकार चलाएको हेर्न र चुनाव पनि फुटेको होइन सिङ्गो नेकपासित लडेर जित्न चाहन्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell