काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले प्रचलित कानुन र स्थापित नजीरहरुका आधारमा राजनीतिक दलको विवाद निरुपण विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गरेका छन्। पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विज्ञप्ति जारी गर्दै आयोगसमक्ष यस्तो आग्रह गरेका हुन्।
राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको भन्दै उनीहरुले यथाशीघ्र उपयुक्त निर्णय दिन आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचारगरी प्रचलित कानुन र स्थापित नजीरहरुका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौँ।’
विज्ञप्तिमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधिप्रसाद यादव र दोलख बहादुर गुरुङले हस्ताक्षर गरेका छन्।