कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ। सेमिफाइनलको आफ्नो दोस्रो लेग सेभियालाई ३-० ले हराएको बार्सिलोनाले समग्रता ३-२ गोलअन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।
बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, जेरार्ड पिक्वे र मार्टिन ब्रेथवेटले गोल गरे। उता सेभियाका फर्नान्डो र लुक डी जोङले रेड कार्ड ब्यहोर्दा टिम खेलको अन्तिम समयमा ९ खेलाडीमा समेटिएको थियो।
खेलको १२ औं मिनेटमा डेम्बेलेको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा १ गोलले अघि रह्यो। त्यस्तै दोस्रोहाफमा पनि गोल गर्न नसक्दा समग्रमा पराजय ब्यहोर्ने मोडमा पुगिसकेको बार्सिलोनाले अतिरक्त समयमा नाटकीय रुपमा खेलमा पुनरागमन गर्यो। अतिरिक्त समयमा सेभियाका फर्नान्डो रेडकार्ड खाँदै बाहिरिए लगत्तै पिक्वेले गोल थपे। लगत्तै ब्रेथवेटले पनि गोल थपे। र, पहिलो लेगमा २-० ले पछि रहेको बार्सिलोनाले दोस्रो लेगमा पुनरागमन गर्दै समग्रमा ३-२ ले जित निकाल्यो। जितसँगै बार्सिलोनाले प्रतियोगितामा फाइनलको यात्रा तय गरेको छ।
