PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फिल्म 'गोर्खे' मा एन्जल श्रेष्ठको अग्निपरीक्षा 



लक्ष्मी बलायर

फिल्म 'गोर्खे' मा एन्जल श्रेष्ठको अग्निपरीक्षा 

मोडेल तथा अभिनेत्री एन्जल श्रेष्ठ हरि लामाले निर्माण गरेको फिल्म 'गोर्खे' बाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।  फिल्ममा मुख्य भूमिकामा अभिनय निर्वाह गर्दै गरेकी श्रेष्ठले यसअघि म्युजिक भिडियो र सर्ट फिल्ममा समेत काम गरिसकेकी छिन्। कला क्षेत्रमा करिब ८ वर्ष देखि काम गरिरहेकी उनी सर्लाहीका बासिन्दा हुन्। नेपाली फिल्ममा खेल्नु अघि उनले भारतीय फिल्म 'कडके कमाल के' मा अभिनय गरेर ठूलो पर्दामा प्रवेश गरेकी हुन्।  

उनको यो फिल्म गत वर्ष नै प्रदर्शन हुने तय भएको थियो। तर कोरोना भाइरसका कारणले फिल्म प्रदर्शन हुन सकेन। अब भने फागुन २१ गते बाट 'गोर्खे' नेपाली सिनेमाघरमा प्रदर्शन हुने भएको छ। कोरोना संक्रमणबीच सिनेमाघरहरु संचालनमा आउँदा दर्शकको उपस्थिति कम नहुँदा अपेक्षित रुपमा फिल्मी क्षेत्र घाटामा गएको छ। यसबीच प्रदर्शन हुन लागेको 'गोर्खे' फिल्मको लिड कास्ट एन्जल श्रेष्ठलाई हामीले प्रश्न गर्‍यौं :

कोरोनाकालमा प्रदर्शन हुन लागेको फिल्मबाट कति आशावादी हुनुहुन्छ ?

लकडाउनअघि नै फिल्म रिलिज भएको भए राम्रो हुने थियो। तर अहिले सबै क्षेत्र खुल्ला भएपनि सिनेमाघरमा मानिसहरु आइरहेका छैनन्। क्ल्बमा समेत मान्छेहरु भरिभराउ छन्। सिनेमाघर र क्लब भनेको उत्तिकै भिडभाड हुने ठाउँ हो। क्लब जान हुने तर हल जान किन नहुने?

नेपाली जनताले एउटा नेपाली फिल्मलाई किन सर्पोट गरिरहनुभएको छैन? त्यसैले निकै डर लागिरहेको छ। यो फिल्म मेरो लागि परीक्षाको घडी भएको छ।

यो क्षेत्रमा आउन कसरी रुचि जाग्यो ?

बच्चैदेखि नाँच्ने अनि नक्कल गर्ने गर्थे। अझ मेरो डायरी लेख्ने बानी समेत थियो। मिस नेपाल बन्छु, मोडलिङ गर्छु भनेर लेख्थे। प्रियंका चोपडा जस्तो बन्छु भनेर सोच्थे। मलाई पहिले देखि नै यो क्षेत्रमा आउन निकै मन थियो।

१५ वर्षकी हुँदा देखि नै मलाई अडिसनको लागि बोलाउनुहुन्थ्यो। कति वर्षको हुनु भयो? भनेर सोध्दा म २० वर्षकी भए भन्दिन्थे। सानो छ हुँदैन बालकलाकारमै सुहाउँछौं भन्नुहुन्थ्यो। तर, आफुलाई भने सधैं हिरोइन बन्ने मन थियो। बाटोमा राखिएका होर्डिङहरुमा कहिले मेरो पोस्टर आउँला भनेर सोच्थे।

गोर्खेबाट आउने नतिजाले कतिको उत्साहित वा डर लागिरहेको छ ?

निकै डर लागिरहेको छ। पहिलो डेब्यु फिल्म त्यो पनि मुख्य भूमिका, डर त लागिहाल्छ नि।

तर खुसी पनि छु। बाटोमा आफ्नो पोस्टर देख्दा अर्कै रमाइलो लागिरहेको छ। पहिले देखि सोचेको सपना सार्थक भएको जस्तो अनुभव भइरहेको छ। यो फिल्म मेरो लागि अग्निपरीक्षा हो।

आफ्नो अभिनयप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?

म कहिले पनि आफ्नो अभिनयप्रति सन्तुष्ट भइन्। आफुले जति गरे पनि ममा केहि कमी छ भन्ने जहिले पनि महसुस हुन्छ। हेर्ने मान्छेले राम्रो छ भनेपनि अझैं यो भन्दा झन राम्रो सक्थे कि भन्ने भावना आउँछ। म काममा कहिले पनि सन्तुष्ट भइन्।

आगामी दिनमा करियर कसरी बढाउने सोच्नु भएको छ ?

मेरो मन फिल्म र कला क्षेत्रमै छ। कलाकार बन्ने मेरो बच्चैदेखिको इच्छा हो। मेरो इच्छाअनुसार मैले पाएजति बुढी हुन्जेलसम्म यो क्षेत्रलाई माया गरिरहनेछु।

फिल्मको छायांकन गर्दा बिर्सन नसक्ने केहि पल ?

पोखरामा यो फिल्मको गीतको सुट गर्न गएकी थिएँ। हरि दाईले सुटमा जाँदा त एन्जल कस्तो मोटाएछौँ भन्नुभयो। मलाई त त्यो कुराले दिमागमा सट लाग्या जस्तो भयो। मैले २/३ दिनसम्म खाना नै खान छाडें। स्याउ र पानीको भरमा बसिरहेकी थिए। घाम थियो। सुट गर्दैगर्दा म बेहोस भए। एक घण्टासम्म पनि मेरो होस आएको थिएन। पछि हस्पिटल लगेर होस आएको थियो। जसलाई म भुल्न सक्दिन्।

जुन ठाउँमा म बेहोस भएकी थिएँ, त्यो सिन गीतको भिडियोमा देखिन्छ। त्यो ठाउँ देख्नासाथ मलाई बेहोस भएको याद आइहाल्छ।

फिल्मको कथावस्तु कस्तो छ ?

फिल्मको नामले नै कथा भन्छ जस्तो लाग्छ। फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। साथै फिल्ममा अन्तरजातिय प्रेमसम्बन्ध समेत देखाइएको छ। बाँकी कुरा थाहा पाउन फिल्म नै हेर्नुपर्छ।

अन्त्यमा दर्शकलाई के भन्न चाहनुहुन्छ ?

सुरुमा त दर्शकहरुलाई नडराउनुहोला भन्न चाहन्छु। कोरोना अहिले पनि छ तर डराउनु नै पर्ने अवस्था भने छैन किनभने कोरोनाको खोप समेत आइसकेको छ। नडराइकन नेपाली गोर्खाली जनता भएर नेपाली फिल्मलाई सर्पोट गरिदिनुहोला, माया गरिदिनुहोला भन्न चाहन्छु।

पारिवारिक फिल्म भएकाले परिवारसहित हलमा आएर हेरिदिनुहोला भन्न चाहन्छु। साथै मेरो कामको मुल्यांकन समेत गरेर माया गरिदिनुहोला भन्ने अपेक्षा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell