PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ



निशा गुरुङ

पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ

हेटौंडा : पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्न अमेरिका जाँदै छिन्।

सन् १६३६ मा स्थापना भएको उक्त विश्वविद्यालयमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यु बुस, संसारकै धनी बिल गेट्स र फेसबुक संस्थापक मार्क जुकरबर्गले पनि अध्ययन गरेका थिए।

उनले लकडाउनको समयमा पढ्नुपर्छ भन्ने लागेर विश्वविद्यालयमा अप्लाइ गरेकी थिइन्। उनले जनवरीमा आवेदन दिएकी थिइन्। अमेरिकाको बोस्टनमा रहेको हार्वड विश्वविद्यालयमा शृंखला अर्वान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन्।

हार्वर्डबाट अध्ययनका लागि स्वीकृति पाएसंगै उनले भनेकी छन्– यो मेरा लागि हालसम्मकै खुशीको कुरा हो। कसरी व्यक्त गरूँ?

‘आँट्यो भने सकिन्छ भन्ने लाग्छ। त्यसका लागि धेरै अध्ययन/अनुसन्धान मेरो रुचिको कुरा हो,’ उनले भनिन्।

विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न पाउनु जीवनको सबभन्दा ठूलो सफलता रहेको उनको भनाइ छ। दुई वर्षको कोष रहेको भन्दै उनले पढाइपछि नेपाल फर्किने बताइन्। उनले आफू करिब ५ महिनापछि अमेरिका जाने बताइन्।

शृंखला सन् २०१८ मा मिस नेपाल बनेकी थिइन्। उनले पुल्चोक इञ्जिनियरिङ कलेजबाट आर्किटेक्ट पढेकी हुन्। उनले आफ्नो ब्याचमा कलेजको उत्कृष्ट अंक ल्याएर स्नातक तह पूरा गरेकी थिइन्। उनी हजुरबुवा र भाइसँग काठमाडौं बस्छिन्। उनका आमाबुबा भने हेटौंडामा छन्।

उनकै प्रयासमा मकवानपुरको कैलाश गाउँको वडा नम्बर ७ मा रहेको बिकट बस्ती तामलाङमा मिस वर्ल्ड २०१९ सहितको टोली पुगेको थियो। मिस वर्ल्ड टोनी एन सिंह र मिस वर्ल्ड अध्यक्ष जुलिया मोर्ले गाउँ पुगेका थिए।

तामलाङस्थित ङिको स्वास्थ्यचौकी अवलोकनका लागि मकवानपुरकी चेली खतिवडा, मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु गाउँ पुगेका थिए।

तामलाङमा ङिको स्वास्थ्यचौकी निर्माण पूर्वमिस नेपाल खतिवडाले गरेकी हुन्। मिस वर्ल्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले ब्युटी विथ पर्पोज विधा जित्न सफल भएको स्वास्थ्यचौकी मिस वर्ल्डका आयोजकलाई अवलोकन गराइएको थियो।

उनकै पहलमा विकट ताम्लाङमा स्वास्थ्यचौकी निर्माण भएको हो। मिस वर्ल्ड प्रतिस्पर्धाका लागि ब्युटी विथ पर्पोजका रुपमा मिस वर्ल्डमा प्रभावशाली प्रस्तुति दिएकी श्रृंखलाले स्वास्थ्यचौकी निर्माण गरेकी थिइन्।

टोलीले मिस वर्ल्डमा ब्युटी विथ पर्पोज जितेको भिडियोमा देखाइएको मकवानपुर भ्रमण गरेको थियो। करिब ५५ लाख लागतमा स्वास्थ्यचौकी निर्माण भएको थियो। उनी सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन्। उनले मकवानपुरको मनहरीका गरिब, विपन्न तथा असहायहरुलाई न्यानो कपडा वितरण गरेकी थिइन्। जाडोमा कष्टकर जीवनयापन गर्दै आएका मनहरी-६ का चेपाङ तथा दलितका ३० घरपरिवारलाई न्यानो कपडा (सिरक/डसना) वितरण गरिएको हो।

प्रत्येक घरपरिवारलाई एक जोरका दरले न्यानो कपडा वितरण गरिएको थियो। मिस नेपाल खतिवडाले रोट्राक्ट इन्टरनेसन क्लबसँगको सहकार्य न्यानो कपडा वितरण गरेकी थिइन्। मिस वर्ल्डको समप्तिसँगै उनले नेपालका विभिन्न स्थानमा गरिब, असहायलाई सहयोग गर्दै आएकी छन्।

खतिवडाले कैलाश गाउँपालिका वडा नम्बर–७, ताम्लाङमा रहेको चेपाङ बस्तीमा पनि ६ सय थान न्यानो कपडा बितरण गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell