PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा ४ करोड सहयोग



पहिलोपोस्ट

बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा ४ करोड सहयोग

काठमाडौं : रुपन्देहीको बुटवल-११ नहरपुरस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप-महानगरपालिकाबीच आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल-भारत मैत्री विकास साझेदारी’ अन्तर्गत ४.४१७ करोडको लागतमा उक्त नयाँ भवनको निर्माण हुने दूतावासले जानकारी दिएको छ।

सन् १९७१ मा स्थापना भएको यस विद्यालयले प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा अध्ययन गरिरहेका कूल ११२७ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन्। 

सन् २००३ यता भारतले स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र सार्वजनिक उपयोगिताका क्षेत्रमा सबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अन्तर्गत नेपालको सातैवटा प्रदेशमा ४४६ वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ। ती मध्ये रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश-५ मा ४१ वटा रहेका छन् भने सोही प्रदेशमा अन्य ९ वटा परियोजनाहरु विभिन्न चरणमा रहेका छन्। 

आज दुवै पक्षबीच भएको सम्झौताले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा हातेमालो गर्ने भारत सरकारको अटूट प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell