PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एलपीएल : लिटल फ्लावर र स्टेपीङ स्टोनको पहिलो जित



एम बम

एलपीएल : लिटल फ्लावर र स्टेपीङ स्टोनको पहिलो जित

कैलाली : लिटल फ्लावर स्कुल र स्टेपीङ स्टोनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित निकालेका छन्।

बिहीवार भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिटलले पहिलो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। लिटलको जितमा सुवाश ऐरले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले।

प्लेयर अफ द म्याच बनेका सुवाश यस प्रतियोगिताकै सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बने। उनले ६ छक्का र तीन चौका प्रहार गरे। यस्तै, नरेन भट्टले अविजित ३१ रन जोड्दा अनुराग सिंहले अविजित ६ रन बनाए। शारदाका लक्की कडायतले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो। उसका लागि सचिन साउदले अविजित ३१ रन जोडे। युवराज थापाले १४ रन बनाए। लिटलका लागि मनोज चनारा, सुवाश ऐर र सचिनभट्टले २/२ विकेट लिए।

आजै भएको दोस्रो खेलमा धनगढी नमुनालाई ९ विकेटले पराजित गर्दै स्टेपीङ स्टोनले पहिलो जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको धनगढी नमूनाले ११ ओभरमा अलआउट हुँदै ४८ रन बनाएको थियो। उसका लागि आयुस खड्काले सर्वाधिक १९ रन बनाए। धनगढीलाई सस्तैमा समेट्न स्टेपीङका भुपेश जोशीले १० रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, सुभम जैशीले २ विकेट लिए।

धनगढीले दिएको ४९ रनको लक्ष्य स्टेपीङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो। स्टेपिङका अविशेक कुँवरले अविजित ३२ रन जोडे। धनगढीका अनुप कुँवरले १ विकेट लिए।

खेलका म्यान अफ द म्याच स्टेपीङका भुपेश जोशी भए। लगातार दोस्रो हारसँगै धनगढी नमुना प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। विजेताले १ लाख २० हजार पाउने छन्। त्यस्तै, उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell