PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले महिलाका नामबाट लिइन् नागरिकता



निशा गुरुङ

लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले महिलाका नामबाट लिइन् नागरिकता

हेटौँडा : मकवानपुरमा लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले पहिलोपटक महिलाका नामबाट नागरिकता प्राप्त गरेकी छिन्। बकैया गाउँपालिका-३ की ३१ वर्षीया लोप्चनले बुधवार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिलाका नाममा नागरिकता प्राप्त गरेकी हुन्। १४ वर्षअघि लोप्चन १७ वर्षकी हँदा सञ्जीव लोप्चनको नाममा नागरिकता बनाएकी थिइन्।

तर, पछि पुरुष भए पनि महिलाप्रतिको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैँलाई असुहाउँदो लाग्न थालेको उनको प्रतिक्रिया छ। त्यसैले नागरिकता महिलाको नाममा गरिएको उनको भनाइ छ। महिलाका नाममा नागरिकता बनाउन सजिलो नरहेको बताउँदै लोप्चनले धेरै कठिन भएको बताइन्। आर्थिक स्थिति कमजोर भएकाको हकमा सरकारको नीति तथा कानुनका कारण धेरै तेस्रोलिंगीले नागरिकता लिन नपाएको उनको गुनासो छ।

सरकारले नयाँ नीति तथा नियम ल्याउँदा सहज ढंगबाट नागरिकता प्राप्त गर्नसक्ने बनाइनुपर्ने उनको भनाइ छ। नेपालको कानुनअनुसार नागरिकता परिवर्तन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी गराए। तेस्रोलिंगीका विषयमा हकहितको कुरा उठ्न थालेपछि लिंग परिवर्तन गरिएको आधारमा मन्त्रिपरिषद् निर्णयबाट नागरिकता परिवर्तन हुने गरेको उनको भनाइ छ।

जसका लागि लिंग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्र आवश्यक रहने गर्तौलाले जानकारी गराए। सञ्जीवनीले थाइल्याडबाट लिंग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिएको उनले बताए। यसअघि मकवानपुरबाट पहिलोपटक अजिता भुजेलले तेस्रोलिंगीको नामबाट नागरिकता प्राप्त गरेकी थिइन्। उनको गत वर्ष हत्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell