काठमाडौं: नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि सुरु हुने भएको छ।
आज पत्रकार सम्मेलनमा आयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने बताए। पुरुष/महिला दुवैमा पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल खेलाइने छ। शीर्ष दुई टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ।
पुरुषमा एचएनसीएस क्लब, एपीएफ क्लब, नेपाल प्रहरी, नेपाली सेना, नयाँबजार सामाजिक युवा क्लब, बुद्ध टोल भलिबल क्लब, बुटवलको मणिमुकुन्द क्लब र बुलबुले रारा क्लब सहभागी हुँदै छन्। महिलामा एपीएफ, सेना, प्रहरी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद्ले भाग लिने छन्।
महासचिव चन्दले एक टिमले ३ विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको जानकारी दिदै प्रत्येक टिमलाई तयारी र यातायात खर्च वापत ५० हजार रुपैयाँ प्रदान गरिने बताए।
पुरुष/महिला टिम र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीका लागि समान पुरस्कार राशी राखिएको छ। शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३ लाख, १ लाख ५० हजार, ७५ हजार र ३७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ। उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकलाई समान १०-१० हजार नगदबाट पुरस्कृत गरिने छ।
पुरस्कार राशीमा पनि पहिलेको भन्दा झन्डै ३ लाख रुपैयाँले बृद्धि गरिएको छ। कुल पुरस्कार राशी १२ लाख ९५ हजार रुपैयाँ रहेको छ। यसपटकदेखि खेलाडी र अफिसियलको विमा पनि गरिने संघले जनाएको छ।
आठदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा खेलाइने छ।
